२१ बैशाख २०८१, शुक्रबार

स्रोत नखुलेको २८ लाखसहित एकजना पक्राउ

hundi foto YlNErJ58Rf scaled

रौतहटको इशनाथ नगरपालिकाको लवतनाबाट प्रहरीले श्रोत नखुलेको २८ लाख ५१ हजार ९६० रुपैयाँ बरामद गरेको छ ।

भारतीय सिमानासंगै जोडिएको ईशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र बेश क्याम्प औरैयाको गस्तीटोलीले राजपुर नगरपालिका-९ बैरियाका शिवनाथ साहको छोरा बर्ष २० का दिलिप कुमार साहलाई २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरेको सशस्त्रका एसपी सुर्यबहादुर सेन ओलीले जानकारी दिएका छन् ।

इशनाथ नगरपालिका-९ लवतनामा भारततर्फबाट आउँदै गरेको बीआर ३० एन ९५८० नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा एक युवकका साथबाट सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

भारतीय क्षेत्रबाट प्रवेश गर्दा गस्ती टोलीलाई शंका लागेर ईशनाथ ९ लवतना गाँउनजिक आज बिहान सवा ७ बजे चेकजाँच गर्दा उक्त रकम बरामद भएको एसपी ओलीले जानकारी दिए ।

मोटरसाइकलको विभिन्न भागमा लुकाएर ल्याउँदै गर्दा बरामद भएको उक्त रकमको बारेमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक ओलीले बताए । बरामद रकम समेत दिलिप कुमार साहलाई जिल्ला भन्सार कार्यालय गौरमा बुुझाउने तयारी भईरहेको एसपी ओलीले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी ११ नम्बर गण हेक्वा मातहतका ईकाईहरुले यस आर्थिक बर्षको मात्र डेढ महिनाको अवधिमा ठूलो मात्रामा अबैध सामान बरामद गरेको छ । साउनदेखि हालसम्म भारतबाट अबैध रुपमा भित्रयाउन खाजेको १ करोड, ५३ लाख, ३७ हजार १ सय १० रुपैयाँ बराबरको बिभिन्न सामान बरामद गरेको छ ।

पछिल्लो समय रौतहटको पश्चिमी नाका हुँदै नेपालतर्फ ल्याइएको श्रोत नखुलेका लाखौं रकम पटक पटक प्रहरीले बरामद गरेको छ ।

त्यसैगरी, यसै अवधिमा ३६ लाख, ४७ हजार, ६सय ९० रुपैया नगद ,तस्करीमा प्रयोग भएको २ थान ट्क, १४ मोटरसाइकल, १५ चौपाया, ५७ क्युविफिट सालको काठ र तस्करीमा संलग्न १८ जनालाई पक्राउ गरेर कानुनको दायरामा ल्याएको सशस्त्र प्रहरी रौतहटको तथ्यांकमा उलेख रहेको छ ।