४ जेष्ठ २०८१, शुक्रबार

सशस्त्रको गोली लागि एक जनाको निधन

matru j

झापा गाँउपालिका ३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ ।

स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागि कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो ।

गोरु काटेको खबर पाएपछि गएको प्रहरी टोलीले थप मद्दत मागेपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्रले गोली चलाएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार आज अपराह्न गोरु काटेका आरोपमा प्रहरीले स्थानीय दुई व्यक्तिलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय कुमरखोदमा राखेको थियो । साँझ ती व्यक्तिलाई जिल्लामा लैजाँदै गर्दा इप्रकाभन्दा तीन किलोमिटर उत्तर बाटामा पर्ने कामाटोली बजारमा स्थानीयवासीको उत्तेजित समूहले ढुङ्गामुढासहित प्रहरीमाथि हातपात गरेको थापाले बताए ।

सो क्रममा गोली लागि गम्भीर घाइते भएका ३८ वर्षीय आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ सवा ७ बजेतिर मृत्यु भएको अस्पताल सञ्चालक दुर्गा प्रसाईँले जानकारी दिए ।

प्रहरीको गाडीको चाबीसमेत खोसेर स्थानीयवासीको एउटा समूहले प्रहरीमाथि हातपात गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाइएको छ । सम्झाउँदा नमानेपछि प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेको तर झन् उत्तेजित भएर प्रहरीमाथि नै हातपात हुन थालेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।

स्थानीयले काटेको गोरुको टाउको र खुट्टा प्रहरीले बरामद गरेपछि आक्रोशित बनेका स्थानीयबासीले सशस्त्र प्रहरीमाथि नै आक्रमण गरेको बताइएको छ । सो क्रममा दर्जनौँको समूहमा रहेका स्थानीयहरु टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि जाइ लागेका थिए ।

प्रहरीको गोली लागि आलमको मृत्यु भएपछि सो क्षेत्रमा स्थानीयबासीले टायर बालेर विरोध गरेका छन |

गाउँपालिकाका अध्यक्ष जयनारायण साहले घटनाका कारण कामाटोली बजार तनावग्रस्त रहेको बताए । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।