२० बैशाख २०८१, बिहीबार

नवलपरासीमा पाँँच दिन निषेधाज्ञा थप

lockdown.jpg 1

भारतीय सीमासँग जोडिएको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पाँच दिन निषेधाज्ञा थपिएको छ । पछिल्लो पटक कोभिड १९ सङ्क्रमित विरामी बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको आजको बैठकले आगामी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सङ्घीय तथा प्रदेशसभा सदस्यहरु, राजनीतिक दल, जिसस तथा स्थानीय तहका प्रमुखहरुसहितको बुधबारको बैठकले कोभिड १९ को सङ्क्रमण समुदायमा फैलिदैँ गएकोले निषेधाज्ञालाई निरन्तरता दिनुपर्नेमा जोड दिएको थियो ।

कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि साउन ३१ गते राति १२ बजेदेखि लागू भएको निषेधाज्ञा तेस्रो पटक थपिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । यसअघि साउन ३१ गते राती १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म र भदौ ६ गते राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । अझै पनि सङ्क्रमणको अवस्थाबाट मुक्त नभई सकेको तथा समुदाय स्तरमा सङ्क्रमण फैलिने अवस्थालाई न्यूनीकरण गर्न निषेधाज्ञालाई निरन्तरता दिन आवश्यक भएकोले भदौ १५ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी पाठकले जानकारी दिनुभयो ।

निषेधाज्ञा अवधिमा कुनै पनि प्रकारको बैठक, भेला, छलफल, सामूहिक जमघट गर्न निषेध गरिएको छ । निषेधाज्ञाको अवधिमा जिल्लाभित्र सञ्चालित बैङ्क, वित्तिय संस्था तथा सहकारीहरुमा अधिकतम रुपमा विद्युतीय सेवामा जोड दिन तथा मानिसको भौतिक उपस्थितिमा दिईने सेवाहरु निषेधाज्ञा अवधिभर स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

बढी जनसम्पर्क हुने कार्यालय÷निकायहरुले अत्यावश्यक सेवाहरु न्यूनतम जनशक्ति परिचालन गरी स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरी सेवा प्रदान गर्न निर्देशन गरिएको छ ।

निषेधाज्ञाको उल्लङ्घन गरेमा सुरक्षाकर्मीले प्रचलित कानून बमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पश्चिम नवलपरासीमा हालसम्म १९५ जनालाई कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण पोखरेलले जानकारी दिनुभयो ।

सैनामैनासँग जोडिएका सीमा बन्द

रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं १ स्थित लौसामा एकै घरका चार सहित २३ मा कोरोना सङ्क्रमण देखिएपछि सैनामैना नगरपालिकाको सीमा आजदेखि बन्द गरिएको छ ।

सीमा क्षेत्रका विभिन्न वडाको विपद् व्यवस्थापन समितिको बैठकपछि सूचना जारी गर्दै रेष्टुरेण्ट, होटेल, गाइभैसी किनबेच, खेल गतिविधि, ठेला, झोलापोका ब्यापारी र आवतजावत गर्न रोक लगाइएको छ ।

वडा नं ११ का वडाध्यक्ष सनिल मरासिनीले आज एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सबै कार्य बन्द गरी सहयोग गर्न आग्रह गर्नुभएको छ । वडा नं ११ को दक्षिण सीमामा पर्ने कञ्चन गाउँपालिका र पश्चिममा कपिलवस्तुमा समुदाय स्तरमा कोरोना सङ्क्रमण भएकोले सो वडाको गाउँ र टोल जोखिममा रहेका छन ।

नगरपालिकाको वडा नं ८ को विपद् व्यवस्थापन समितिको बैठकले छिमेकी स्थानीय तहमा कोरोना भाइरसको सङ्क्रमण देखिएकोले कञ्चन गाउँपालिकाको सीमामा पर्ने शान्तिनगर टोलमा रहेका सबैलाई होम क्वारेन्टिाइनमा बस्न निर्देशन गरेको छ ।

सो वडाका वडाध्यक्ष रामशरण न्यौपानेले आज सूचना जारी गरी बाँसगढी टोल संस्थामा रहेको बासगढी बजार क्षेत्रलाई बन्द गरिएको बताउनुभएको छ । नगरपालिकाको वडा नं ९को वडास्तरीय विपद् व्यवस्थापन समितिले कञ्चन गाउँपालिका वडा नं १ स्थित लौसामा कोरोना सङ्क्रमण देखिएकाले छिमेकी गाउँपालिकाबाट आवजावत गर्न रोक लगाएको छ ।

वडा नं ९ का वडाध्यक्ष डोलराज भण्डारीले आज सूचना जारी गर्दै होटेल, खाजा घर, मासुजन्य पसल पसल पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको छ । नगरपालिकाको वडा नं ७ का वडाध्यक्ष डिलाराम बेल्वासेले आज सूचना जारी गर्दै सङ्क्रमित क्षेत्र हुँदै आवतजावत गर्न रोक लगाइएको बताउनुभएको छ । भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकै घर परिवारमा ४ र ९ वर्षका बालकमा समेत कोरोना पुष्टि भएपछि सैनामैनामा पनि त्रास वढेको छ ।

सो गाउँपालिकाको वाड नं १, ३, ४ र ५ मा होम क्वारेन्टिनमा बसेकामा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना सङक्रमित १८ देखि ४५ वर्षसम्मका छन । सङ्क्रमणसँगै गाउँपालिकाको वडा नं १ स्थित लौसा लगायतका क्षेत्र बन्द गरिएको कञ्चन गाउँपालिकाले जनाएको छ । रुपन्देहीका विभिन्न स्थानीय तहमा मङ्गलवार मात्रै ६९ कोरोना सङक्रमित फेला परेका थिए ।