१६ बैशाख २०८१, आईतवार

पानी र स्वास्थ्य सामग्रीका पसल चौविसै घण्टा खुल्ने

water supply

काठमाडौँमा अत्यावश्यक सेवामध्ये पानी र औषधी तथा स्वास्थ्यसामग्री बिक्रीवितरण गर्ने व्यवसाय चौविसै घण्टा र अन्य बिक्रीवितरण गर्ने व्यवसाय भने विहान ९ः१५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ ।

अत्यावश्यकबाहेकका गतिविधि निषेधको आदेश जारी भएको वर्तमान समयमा उक्त आदेश कार्यान्वयनको शिलशिलामा अत्यावश्यक वस्तु वा सेवामध्ये औषधी, पानी र स्वास्थ्य सामग्री बिक्रीवितरण गर्ने पसल जुनसुकै समयमा पनि खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

यद्यपि अत्यावश्य वस्तु र सेवामध्ये खाद्य वस्तु, दुग्धजन्य पदार्थ, फलफूल, तकारी, माछामासु आदि बिक्रीवितरण गर्ने पसल भने बिहान ९ः१५ बजेसम्म खोल्न पाइने छ । यसरी व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम राख्नुपर्ने, मास्क र सेनिटाईजरको प्रयोगलगायत स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गनुृपर्ने सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम यही भदौ ३ गते राती १२ः०० बजेदेखि भदौ १० गते राती १२ः०० बजेसम्मका लागि उपत्यकाभर लागु हुने गरी अत्यावश्यकबाहेकका गतिविधिमा निषेधको आदेश जारी भएको छ । महामारीको रुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रामण रोक्न उक्त आदेश जारी गरिएको हो ।