२२ बैशाख २०८१, शनिबार

गलत समूहको रगत चढाएर सुत्केरीको मृत्युको अभियोगमा दुई चिकित्सक पक्राउ

ram janaki hospital

गलत समूहको रगत चढाएपछि एक सुत्केरीको मृत्यु भएको अभियोगमा जनकपुरका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर–६ स्थित रामजानकी अस्पतालमा सुत्केरी भएकी महोत्तरीको गौशाला नगरपालिकाको भरतपुर बस्ने २३ वर्षीया गङ्गादेवी महतोको आज बिहान मृत्यु भएपछि चिकित्सक पक्राउमा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सो अस्पतालमा गङ्गादेवीको सुत्केरीका लागि बिहीबार बेलुकी ९ बजे शल्यक्रिया गरिएको थियो । उहाँले छोरीको जन्म दिनुभएको छ । शल्यक्रिया गरिएको कारण महतोलाई रगतको अभाव भएको थियो । चिकित्सकले उहाँका आफन्तलाई ‘ओ पाजिटिभ’ समूहको रगतका लागि नमूनासहित पठाएको थियो ।

जनकपुरस्थित रक्त सञ्चार केन्द्रले ओ पोजिटिभ समूहको रगत दिनुपर्ने ठाउँमा बी पोजिटिभ समूहको रगत दिएको बताइएको छ । मृतकका पति राजकुमारले ल्याएको सो रगतलाई चिकित्सकले जाँच नगरी चढाउँदा समूह फरक परेपछि नकारात्मक असरले मृत्यु भएको बताइएको छ । अस्पताल र रेडक्रसको चरम लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तले कडा कारवाहीका साथै क्षतिपूर्तिको माग गरेका छन् ।

    सम्बन्धित समाचार...