५ जेष्ठ २०८१, शनिबार

ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

arrest

झापामा प्रहरीले ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिकाको जलथल निवासी दुर्गाबहादुर मगर छन् । ०६० कात्तिक ३० गते जलथलमा पाहुना आएका झापा गाउँपालिका ४ का बिरिकलाल माझीको कुटपिटका कारण मृत्यु भएको थियो ।

प्रहरीले साविक जलथल गाविस-८ का दुर्गा मगरलाई बिहीबार मेचीनगर नगरपालिका-१२ स्थित शहरेडाँगी आफन्तको घरबाट पक्राउ गरेको हो। उनले २०६० कात्तिक ३० गते झापा गाउँपालिका-४ बस्ने ४५ वर्षीय बिरिक लाल माझीमाथि कुटपिट गरेका थिए।

उनी जलथलमा रहेकी छोरीको घरमा पाहुना आएकी थिइन् । पाहुना आएका माझीलाई स्थानीय दुर्गाबहादुर मगर, खेम फुयालसहित ३/४ जनाको समूहले कुटपिट गरेका थिए । कुटपिटका कारण गम्भीर चोट लागेका माझीको भद्रपुरस्थित मेची अस्पतालमा उपचारका क्रममा घटना भएको ४ दिनपछि मंसिर ४ गते मृत्यु भएको थियो ।

घटनालगत्तै कुटपिटमा संलग्न सबै व्यक्ति फरार भएका थिए । माझीको मृत्यपछि मगर भारतको कोलकत्ता, दार्जिलिङ तथा वैदेशिक रोजगारीको लागि मलेसिया, दुबईसमेत पुगेका थिए। नेपालमा आएर पनि उनी आफन्तको घरमा लुकिछिपी बसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताए।

जिल्ला प्रहरी कार्यालयले गत वैशाख ३० गते जिल्ला अदालतबाट पक्राउ अनुमति लिई मगरसहितका फरार व्यक्तिहरुको खोजी तीव्र पारेको थियो । जिल्ला प्रहरीका प्रहरी निरीक्षक साकारराज पन्तको टोलीले बिहीबार मेचीनगर नगरपालिका १२ सहरेडाँगीस्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा मगरलाई पक्राउ गरिएको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । घटनामा संलग्न अन्य व्यक्तिहरु अझै फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको उनले बताए ।

उनीमाथि प्रहरीले थप अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेको छ।

घटना के भएको थियो?

२०६० कात्तिक ३० गते बिरिकलाल माझी आफ्नी छोरी भेट्न बिष्णुलाल माझीको घर अर्थात् आफ्नो ससुराली गएका थिए।

छोरीलाई भेटेर राति ७-८ बजे उनीहरू बिरिकलाल र बिष्णुलाल घुमफिर गर्न घरबाट निस्किए। ५०० मिटर पर पुगेपछि बिरिकलाल चुरोट किन्न मणिकुमार राईको भट्टी पसलमा छिरे। बिरिकलाललाई चुरोट दिन राईकी छोरी आइन्।

डिएसपी थापाका अनुसार चुरोट लिँदा माझीले उनको हात छोएका थिए। त्यसकै निहुँमा रक्सी खाएर बसेका दुर्गा मगर र खेम फुयाल लगायतले उनीमाथि कुटपिट गरे।

उनीहरूले आफ्नी बहिनीको हात किन समातेको भन्दै माझीमाथि कुटपिट गर्न थाले। बाहिरै बसेका बिष्णुलाल माझीले पाहुना आएका बिरिकलालको गल्तीमा एक पटकका लागि माफी गरिदिन आग्रह गरे।

त्यहाँबाट फुत्केर उनीहरू विष्णुलालको घर आउँछन्। घर फर्किएपछि बिरिकलाललाई छाडेर बिष्णु बाहिर निस्किन्छन्।

त्यही बेला दुर्गा मगरले केही मानिस जम्मा गरी बिरिकलाललाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको डिएसपी थापाले जानकारी दिए।

‘तलाई मार्छौं भन्दै उनीहरूले भुइँमा लडाएर चिरपटको दाउरा र छालाको बुट जुत्ताले हानेर गम्भीर घाइते बनाएका थिए,’ डिएसपीले भने, ‘त्यसपछि उनीहरू त्यस दिनदेखि फरार थिए।’

गम्भीर घाइते भएका बिरिकलाललाई उपचारको लागी मेची अञ्चल अस्पतालमा लगियो। उनलाई केही दिन अस्पतालमा राखेपछि घर लगियो। घरमै भएको बेला २०६० साल मंसिर ४ गते बिहान उनको मृत्यु भएको थियो।

उनीहरू विरूद्ध बिष्णुलाल माझीले कुटपिट गरी कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।

प्रहरीले बिहीबार उनीमाथि सोधपुछ गर्दा आफूले हत्या गरेको स्वीकारेको डिएसपी थापाले बताए।

उनका अनुसार यस घटनामा संलग्न अन्य तीन जनाको पनि खोजी भइरहेको छ।

‘त्यत्तिबेला उनीसहित अन्य तीन जनाविरूद्ध उजुरी परेको थियो। अहिले एक जना पक्राउ परेका छन्,’ डिएसपी थापाले भने,’अब उनीबाट अरूको पनि पहिचान होला।’