२१ बैशाख २०८१, शुक्रबार

विज्ञहरुको सुझाव: ‘दुई साता लकडाउन देखी कर्फ्यूसमेत’, प्रधानमन्त्री सम्बद्ध निकायसँग छलफल गरेर निर्णयमा पुग्ने

1596519928baluwatar

विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् ।

जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् ।

‘छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राख्नुभएको छ। लकडाउन नगरेमा थप भयावह हुन सक्ने उहाँहरूको चेतावनी छ,’बैठकका एक सहभागीले भने,’कतिपय विज्ञहरूले त कर्फ्यूसमेत लगाउन भन्नुभएको छ।’

वीरगञ्ज काठमाडौं लगायतका ठाउँहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको सन्दर्भमा प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गरेका हुन्।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताए । ‘यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गर्नुभयो ।

उहाँहरुले छिट्टै कम्तीमा पनि २ साता लकडाउन घोषणा गरेर त्यो बीचमा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिनुभयो’, बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका ठाकुरले भने ।

विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको आफूले पाएको भन्दै यसबारे थप छलफल गरेर आफू टुंगोमा पुग्ने बताएको ठाकुरको भनाइ छ ।

सो क्रममा ठाकुरले सरकारले लामो समय लकडाउन गरेपनि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले लकडाउन गरेरमात्रै नहुने यसअघि नै स्पष्ट भएकाले सरकारको आगामी योजना के छ भन्दै प्रश्न समेत गरेका थिए । ‘योबीचमा जुन ढंगले सरकारको काम गराइ रह्यो । यसले समय त्यत्तिकै खेर गएको पुष्टि हुन्छ’, उनले बैठकमा भनेका थिए, ‘लकडाउन थपेरमात्रै समाधान होइन । सरकारको योजना पनि के छ ? । दुई हप्ता थप्ने र भोलिपनि अवस्था उस्तै रहे के हुन्छ ? यसबारे सरकार गम्भीर बनोस् ।’

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले सुझाव लिनेमात्रै नभइ काम पनि गर्नुपर्ने धारणा राखेका थिए ।

ओलीले प्रतिपक्षी दलसहित विज्ञहरुसँग सुझाव लिन बैठक बोलाएका हुन् ।

सीसीएमसी र स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर निर्णयमा पुगिने

आज भएको विज्ञहरु सँगको छलफलका क्रममा विज्ञहरुले प्रधानमन्त्रीलाई दुईथरीका सुझाव दिएका छन् । केही विज्ञले तत्काल १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् भने केहीले चाहिँ अवस्थालाई सामान्यकरण गर्दै आवश्यकता हेरी ठाउँ विशेषमा लकडाउन गर्न सुझाएका छन् ।

जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले विज्ञहरुले १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाएको बताए ।

बालुवाटारमा प्रधानमन्त्रीले विज्ञहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पाण्डेले आफूलगायत केही विज्ञहरुले १५ दिन कडाखालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

‘पहिले भारतबाट आएका मात्रै संक्रमित हुन्थे भने अहिले कम्युनिटीमा पनि संक्रमित बढेका छन् । हामी अहिले कुन स्टेजमा छौं र के गर्ने भन्नेबारेमा धारणा राखियो’, उनले भने, ‘१५ दिन कडा खालको लकडाउन गर्ने र त्यसपछि जनस्वास्थ्यका मापदण्ड अपनाउने भन्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको छ ।’

केही विज्ञले भने कोरोना अहिले नै नियन्त्रणमा आउन सक्ने अवस्था नरहेको र २–३ वर्षपनि लम्बिन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाएर अवस्थालाई सहजतातिर लैजानु पर्ने धारणा पनि राखेको उनले बताए ।

यद्यपी कोरोनाको विषयमा केयरलेस हुँदै जाँदा भयावह स्थिति आउन सक्ने भएकाले सरकारले उचित निर्णय गरेर अघि बढ्नुपर्नेमा सबैपक्ष एकमत भएको उनले बताए । उनले भने, ‘विज्ञहरुले दिएको सुझावको आधारमा एमसीसी, स्वास्थ्य मन्त्रालय र क्याबिनेटमा छलफल गरेर उचित निर्णय गर्छु भन्नु भएको छ । आशा गरौं कोरोना नियन्त्रणमा सकारात्मक पहल होला ।’

बैठकपछि अर्का जनस्वास्थ्यविद डा समिरमणि दीक्षितले भने देशभर लकडाउन गर्नुको साटो संक्रमण बढी भएका स्थानमा लकडाउन गर्नुपर्ने र अन्य स्थानमा व्यवस्थित बनाउँदै लैजानुपर्ने सुझाव दिएको बताए । उनले समग्रमा सवैतिर लकडाउन गर्दा आर्थिक लगायतका गतिविधि ठप्प हुनसक्ने र त्यसले थप मार खेप्नुपर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने आफ्नो सुझाव रहेको जानकारी दिए ।

सवैको सुझाव सुनिसकेपछि प्रधानमन्त्री केपी ओलीले एमसीसी, स्वास्थ्य मन्त्रालयसँग समेत छलफल गरेर लकडाउनको मोडालिटी तयार गरिने बताएका थिए । उनले नेपाल र नेपाली कोरोनाको संकटमात्र नभएर विभिन्न संकटहरु पार गर्दै आएकाले यो संकटलाई पनि पार लगाउने विश्वास व्यक्त गरेका थिए ।