८ बैशाख २०८१, शनिबार

लकडाउन गर्ने/ नगर्नेबारे प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गर्ने

pm office baluwatar
फाइल फोटो

प्रधानमन्त्री केपीशर्मा ओलीले लकडाउन गर्ने नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरूसँग छलफल गर्न लागेका छन्।

लकडाउन खुलेसँगै काठमाडौंँसहित देशभर कोरोना संक्रमण बढेपछि सर्वसाधारणमा त्रास थपिएको छ भने सरकार यसको नियन्त्रण कसरी गर्ने भन्ने उपायको खोजीमा जुटेको छ । पछिल्लो समय कोरोना सक्रमण दर बढेपछि देशका प्रमुख शहरहरुमा निषेधाज्ञा, कर्फ्यु लगायतका उपाय लगाएपनि कोरोना संक्रमणको मिटर बढ्दो छ ।

कोरोना भाइरसबाट संक्रमितकाे संख्या बढेसँगै प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन्।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे कोरोना नियन्त्रणका लागि विज्ञहरुसँग सामूहिक परामर्श गर्दै छन् । भयावह स्थिति आउनसक्ने चिन्ता बढेपछि सरकारले नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे छलफल गर्दै रणनीति तय गर्न प्रधानमन्त्री ओलीले मंगलबार छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलका लागि ओलीले कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएका छन्।

सल्लाहकार थापाले कुन–कुन क्षेत्रका विज्ञहरुसँग छलफल गर्न लागेको भन्नेबारेमा अहिलेसम्म नखुलाइएको भन्दै २० भन्दा बढीको सहभागीता रहनसक्ने बताए ।

‘प्रधानमन्त्रीले मंगलबार विज्ञहरूसँगको बैठक आयोजना गर्दै हुनुहुन्छ। समय अहिले तय भइसकेको छैन’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ‘वीरगञ्ज,काठमाडौं लगायतका ठाउँहरुमा संक्रमण बढिहरेको छ। अब कसरी अघि बढ्ने भनेर छलफल गर्न लाग्नुभएको हो।’

यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि उनले विज्ञहरूरुसँग छलफल गरेका थिए।

सरकारले गत चैत ११ बाट सुरु गरेको लकडाउन साउन ७ मा अन्त्यपछि नागरिकहरुले सुरक्षामापदण्डको वेवास्ता गर्दै आएका छन् । जसले गर्दा कोरोना संक्रमण समुदायस्तरमै पुगिसकेको कतिपयको भनाइ छ । तर सरकारले भने संक्रमण समुदायस्तरमा पुगिनसकेको दावी गर्दै आएको छ ।

लकडाउनको अन्त्यपछि बजार, पसललगायत सार्वजनिक स्थलमा भीड बढेको छ । तर पछिल्लो पटक काठमाडौँ उपत्यकामा समेत संक्रमित बढ्न थालेपछि सरकारले काठमाडौँ प्रवेशमा राति ७ देखि बिहान ७ बजेसम्म अत्यावश्यकबाहेक अरूलाई रोक लगाएको छ भने परीक्षणलाई बढाएको बताएको छ ।