७ बैशाख २०८१, शुक्रबार

लम्जुङको दोर्दीमा तुइन चुँडिएर एक महिला बेपत्ता

tuin nepal 1
सांकेतिक तस्विर

सोमबार मध्याह्न, लम्जुङमा तुइन चुँडिएर दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने फूलमाया गुरुङ बेपत्ता भएकी छन् । उनि पूजा गर्न मन्दिर जाँदै थिइन । दोर्दीखोला पारी रहेका जलदेवी मन्दिरमा पूजा गर्न जाँदा तुइन चढेर खोला तर्नुपर्ने बाध्यता छ । तुइनमा चढेर खोला तर्दै गर्दा अचानक तुइन छिनेपछि, उनी बेपत्ता भएकी हुन्।

उनीसँगै स्थानीय १७ वर्षीय विकास घले पनि मन्दिर जाँदै थिए। तर उनले भने खोलामा खसेपछि तुइन समाएर ज्यान जोगाए। उनलाई स्थानीयवासीले उद्धार गरेको लमजुङ प्रहरीले जनाएको छ।

फूलमाया र विकास तुइन चढ्नुअघि २ जना त्यही तुइन चढेर दोर्दी खोला तरेर मन्दिर गएको दोर्दी गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताए। जनैपूर्णिमामा उक्त मन्दिरमा विशेष पूजा हुने भएकाले धेरै मानिस मन्दिर जाने उनले बताए। उक्त दिन धेरैजसो भने अर्के बाटो घुमेर मन्दिर गएका थिए।

यसअघि उक्त स्थानमा रहेको तुइन भएको ठाउँमा झोलुंगे पुलको योजना आएपछी पुरानो र जीर्ण तुइन भत्काइएको उपाध्यक्ष दिलबहादुरले बताए। हाल छिनेको तुइन निर्माण सामाग्री वारपार गर्न एउटा लठ्ठा राखेर तुइन बनाइएको थियो ।

‘पुल बनाउने टोलीले सामान ओसार पसार गर्न तुइन बनाएछन्,’ उपाध्यक्ष दिलबहादुरले भने, ‘त्यही तुइनबाट खोला तर्दा तुइन छिनेछ।’ लकडाउनका कारण पुल बनाउने काम पनि रोकिएको उनले बताए।

सरकारले दुई वर्षभित्र देशभरबाट तुइन बिस्थापित गर्ने घोषणा गरे पनि अझैसम्म विस्थापित भएको छैन । तुइनबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदा मानवीय क्षति भएका समाचार सार्वजनिक हुँदै आएका छन् ।

यसै महिना मकवानपुरमा तुइनबाट खसेर हेटौंडा उपमहानगरपालिका–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको मृत्यु भएको थियो ।