fbpx
६ बैशाख २०७८, सोमबार

गण्डकी प्रदेशले प्रहरीलाई दियो ५ ‘बुलेट बाइक’, १८ पल्सरसहित २८ मोटरसाइकल

गण्डकी प्रदेशका ट्राफिक प्रहरी अब रोयल इनफिल्ड कम्पनीको ‘बुलेट’ बाइक चढेर ड्युटीमा खटिने भएका छन्।

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीलाई ५ बुलेट, १८ पल्सरसहित २८ वटा मोटरसाइकल र ४ वटा भ्यान प्रदान गरेको छ ।

आइतबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआइजी घनश्याम अर्याललाई गाडीको चाबी हस्तान्तरण गरेका थिए। चाबी बुझाएपछि मुख्यमन्त्री गुरूङले सवारी साधन पाएपछि प्रहरी काम कारबाहीमा चुस्तता आउने र प्रहरीको मनोबल बढ्ने बताए।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शान्ति सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीका लागि ५ थान बुलेट बाइक,टिभिएस ब्रान्डका ५ थान मोटरसाइकल र १८ थान पल्सरसहित २८ थान मोटरसाइकल प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । गतवर्ष पनि प्रदेश प्रहरीलाई मन्त्रालयले ४३ वटा मोटरसाइकल हस्तान्तरण गरेको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव काशीराम गैरेले प्रति मोटरसाइकल ५ लाखका दरले ५ वटा रोयल इनफिल्ड बाइक खरिद गरेको बताए। उनका अनुसार गत आर्थिक वर्षको बजेटमै प्रहरीलाई सवारी साधन खरिद गर्ने कार्यक्रम राखिएको थियो। सोही कार्यक्रमअनुसार गण्डकीका ११ वटा जिल्ला प्रहरी कार्यालयले माग गरेअनुसार मोटरसाइकल खरिद गर्न बजेट पठाइएको थियो।

जसअनुसार प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, बाग्लुङ, स्याङ्जा र तनहुँले १/१ थान खरिद गरेक थिए। यस्तै, १५० सिसीको पल्सर मोटरसाइकल १८ थान र टिभिएस अपाची ५ थान पनि प्रहरीले खरिद गरेको छ। यो सहित प्रदेशभरका प्रहरी कार्यालयले गतवर्ष प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट २८ थान मोटरसाइकल खरिद गरेका थिए।

प्रदेश सरकारले ४ वटा भ्यानका लागि १ करोड ५१ लाख १५ हजार २ सय रुपैयाँ र २८ वटा मोटरसाइकलका लागि ८४ लाख १२ हजार ४ सय रुपैयाँ गरी २ करोड ३५ लाख २७ हजार ६ सय रुपैयाँ खर्चेको छ ।

मोटरसाइकल खरिद गर्न जिल्लास्थित प्रहरी कार्यालयलाई नै बजेट पठाए पनि गाडी भने प्रदेश सरकार आफूले खरिद गरेर हस्तान्तरण गरेको आन्तरिक मामिला सचिव गैरेले बताए। उनका अनुसार ४ वटा टाटा पिकअप भ्यान खरिद गरिएको थियो।

प्रदेशले प्रहरीलाई मोटरसाइकल किन्न ८४ लाख १२ हजार ४५७ रुपैयाँ र ४ वटा गाडी किन्न १ करोड ५१ लाख १५ हजार २ सय रुपैयाँ गरी कुल २ करोड ३५ लाख २७ हजार ६ सय ५७ रुपैयाँ खर्च गरेको सचिव गैरेले बताए। गाडी किन्न प्रदेशले नै टेण्डर आह्वान गरेकाले जिल्लालाई नदिएको उनको भनाइ छ।

बुलेट मोटरसाइकलबोहक अन्य मोटरसाइकल कास्कीले ४ थान, स्याङ्जा, गोरखा, लमजुङ, नवलपुर, बाग्लुङ र पर्वतलाई २-२ थान लिएका छन् भने मनाङ र मुस्ताङले १-१ थान मोटरसाइकल किनेका छन्।

यस्तै, प्रदेशले किनेको ४ वटा गाडी कास्की, तनहुँ, लमजुङ र पर्वत प्रहरीलाई १-१ वटा प्रदान गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी अरुणकुमार भण्डारीले बताए।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको शान्ति सुरक्षाको प्रबन्ध राम्रो गर्न प्रहरीलाई सुझाएका थिए । डीआईजी अर्यालले गण्डकी प्रदेशलाई शान्ति सुरक्षाको हकमा सुरक्षित प्रदेश बनाउने र उपकरणको हिसाबले पनि सुविधा सम्पन्न बनाउने बताएका थिए ।

सवारी साधनहरुको चाबी बुझेका डिआइजी घनश्याम अर्यालले प्रहरीको पारदर्शिता, जवाफदेहिता र व्यवसायिक निष्ठामा थप मद्दत पुग्ने बताए।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भण्डारीका अनुसार प्रदेश सरकारले खरिद गरेको ४ वटा गाडी बाहेक बुलेटसहित सबै मोटरसाइकल जिल्ला स्थित प्रहरी कार्यालयहरुले नै खरिद गरेका थिए। हस्तान्तरण गर्नका लागि जिल्लाबाट आइतबार पोखरा मगाएको र हस्तान्तरण पश्चात जिल्ला पठाएको डिएसपी भण्डारीले बताए।

बुलेट बाइक प्रहरीका लागि उपयुक्त नै भएकाले खरिद गरेको प्रदेश प्रहरी प्रमुख डिआइजी अर्यालले बताए।

‘बजेटको लिमिटेसन थियो, जम्मा ५ लाख दिएको थियो,’ उनले भने, ‘प्रहरीले पायो भनेर झन् खुसी हुनुपर्ने होइन र!’

प्रहरीले बुलेट बाइक चढ्दा आलोचना गर्नुपर्ने कारण केही नभएको बताए।