११ बैशाख २०८१, मंगलवार

भीमफेदी कारागारको पर्खाल नाघेर भारत भागेका कैदी लकडाउनमा नेपाल फर्किदा पक्राउ

farar

करागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

२०७६ कात्तिक ३० गते भीमफेदी कारागारबाट भागेका कुलदीपराज धामीलाई प्रहरीले कञ्चनपुरबाट चितवनतर्फ आउँदै गरेको अवस्थामा नवलपरासीबाट पक्राउ गरेको छ ।

कात्तिक ३० गते कारागारबाट फरार भएका सुनसरी रामधुनी नगरपालिका-७का २५ वर्षीय कुलदिपराज धामीलाई शुक्रबार मकवानपुर प्रहरीले पक्राउ गरेको हो। मकवानपुरको भीमफेदी कारागारबाट भागेर फरार भएका थिए।

उनलाई प्रहरीले पूर्वी नवलपरासी देवचुली नगरपालिका-१६ रजहरस्थित पुल छेउबाट पक्राउ गरेको हो। धामीले २१ वर्षीय रोजिन गुरूङको हत्या गरेपछि २० वर्ष कैद सजाय सुनाइएकाे थियो।

‘उनी भीमफेदी कारागारमा कैद भुक्तानी गर्दै थिए। करिब पाँच वर्ष भुक्तान गरिसकेका थिए तर बीचमा पर्खाल नाघेर भागे,’ मकवानपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले भने।

कारागार पर्खालको उचाई लामो भएपनि उनी कसरी भाग्न सफल भए भन्ने प्रश्न उठेको थियो। ‘पर्खाल ठूलो नै छ तर बीचबीचमा अलिअलि खाली भएका ठाउँमा बलजफ्ती हात-खुट्टा छिराएर नाघेको बयान दिएका छन्,’ डिएसपी रानाले भने।

प्रहरीको खोजीमा रहेका धामीलाई शुक्रवार कंचनपुरबाट चितवन तर्फ आउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले नवलपरासी देवचुली नगरपालिका वडा नं. १६ रजहर स्थितपुल छेउबाट पक्राउ गरेको हो। उनी कारागारबाट भागेपछि भारत गएका थिए। कोरोनाभाइरसको महामारीका कारण भारतमा लकडाउन भएपछि नेपाल फर्किए। प्रहरीले पनि उनी नेपाल फर्किएको सूचना पाएपछि खाेजीकार्यमा पक्राउ परे।

‘कारागारबाट भागेर उनी भारत गए तर लकडाउनपछि नेपाल आएको भन्ने सूचना आएपछि हामीले उनको खोजी गर्‍यौं र पक्राउ गर्‍यौं,’ उनले भने।

साथै उनी कारागारबाट भागेको हुँदा थप सजाय हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‘१५ वर्ष बाँकी थियो तर जेलबाट भागे, फेरि साढे सात वर्ष कैद सजाय बढ्नेछ,’ डिएसपी रानाले भने। उनलाई भीमफेदी कारागारमा नै पठाउने तयरी गरिएको छ।

कैद भुक्तानका लागि भीमफेदी कारागारमा रहेका धामीलाई पुनः कारागार पठाइने मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए । उनलाई आइतबार बिहान पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ ।