६ बैशाख २०८१, बिहीबार

जनकपुरमा सोमबारदेखि एक साताका लागि निषेधाज्ञा

janakpur Janaki Mandir

जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि लागू हुने गरी एक हप्ता सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

उपमहानगर क्षेत्रमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो। आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय लिएको हो |

जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरिनेछ । निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको छ।

कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरि प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा र स्थलहरू सोमबार राति १२ बजेदेखि एक हप्तासम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उपमहानगरपालिकाभित्र निषेधाज्ञा जारी गरिएको प्रजिअ भट्टराईले बताए ।

प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कसपलाई अत्यावश्यक सेवामा राखेको छ।

स्थानिय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय भएको भट्टराईले जानकारी दिए ।

प्रदेश २ को बिरगंज, राजविराज र जलेश्वरमा यसअघि नै निषेधाज्ञा जारी गरिसकिएको छ ।