८ बैशाख २०८१, शनिबार

पशुपति आर्यघाटमा जलाउन लागेको शव बरामद, छोरा पक्राउ

pasupati
फाइल फोटो

कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा ३० वर्षका सन्तोष नेपालीलाई शनिबार दिउँसो प्रहरीले घाटबाटै पक्राउ गरेको छ । कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा गोदावरी छम्पी डाइछापका नेपाली पक्राउ परेका हुन् ।

प्रहरीले पशुपति आर्यघाटमा जलाउन लागेको शव बरामद गरेको हो। महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुर गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव बरामद गरेर उनका छोरालाई हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

हत्या भएको आशंकामा शव बरामद गरेर अनुसन्धान सुरु गरेको परिसरका एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

‘शनिबार बुबाको मृत्यु भएपछि छाेराले घाटमा दाहसंस्कारका लागि लैजान गाउँलेलाई बोलाए’ उनले भने, ‘तर गाउँलेले यो मृत्यु होइन, हत्या हो भनेर प्रहरीलाई खबर गरेपछि हामी त्यहाँ पुगेका हौं।’ एसपी कार्कीले भने,’

दाह संस्कारका लागि शव आर्यघाट लगिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । गाउँलेको सूचनाका आधारमा शव बरामद गरेर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार गत बिहीबार राति रक्सी खाएका बेला कृष्ण र छोरा सन्तोषबीच झगडा भएको थियो । स्थानीयका अनुसार मापसे गरी बुबाले जहिल्यै पनि किचकिच गर्ने गरेकाे भन्दै छाेराले सन्तोषले त्यसै क्रममा बाबुमाथि कुटपिट गरेका थिए ।

बिहान बाबु बेहोस देखेपछि सन्तोषले सैनिक अस्पताल छाउनीमा उपचारका लगी लगेका थिए तर अस्पतालले बाबुलाई मृत घोषणा गर्‍यो ।

अहिले छाेरा सन्तोषमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट म्याद थप गरिएको छ भने बुबा कृष्णको शव पोष्टमर्टमको लागि पाटन अस्पताल पठाइएको छ।