१४ बैशाख २०८१, शुक्रबार

शनिबार थप तीन सय १५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

corona 1

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा उपत्यकाका ६ सहित ३१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 

देशभरका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

योसँगै संक्रमितको संख्या २० हजार नाघेको छ । शनिबारसम्म देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन् भने कुल निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा छ हजार ९ सय ९३ जनामा पिसिआर परीक्षण गरिएको जानकारी दिए।

शनिबारसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा छन् भने आइसोलेनमा रहनेको संख्या पाँच हजार तीन सय ३८ छ। विगत २४ घण्टामा कोरोना निको भएर ९३ जना घर फर्किए।

अहिलेसम्म कोरोना निको भएर १४ हजार चार सय ९२ जना घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए।

कोरोनाबाट नेपालमा शनिबारसम्म ५६ जनाको मृत्यु भइसकेको छ।