१३ बैशाख २०८१, बिहीबार

इलामको सशस्त्र प्रहरी गणका २७ जनामा कोरोना संक्रमण

corona virus illustration

इलाममा आज एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

इलामस्थित सशस्त्र प्रहरी गणमा कार्यरत थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण फैलिएसँगै गणलाई सिल गरिएको छ । यसअघि गणमा कार्यरत १० जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

विराटनगरमा रहेको प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब सङ्कलन गरी पठाइएकामध्ये १७ जनामा रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी गणका प्रमुख एसपी सुधीरजंग थापाले जानकारी दिए ।

गणमा शुक्रबार ५ र साउन ११ गते ५ जनामा कोरोना पोजिटिभ देखिएको थियो । क्याम्पमा रहेका जवानदेखि प्रहरी नायब उपरीक्षकसम्मलाई कोरोना पोजिटिभ देखिएको थापाले बताए ।

योसँगै इलाममा २७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुल सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ । बाँकी ४० जनाको स्वाब सङ्कलनको तयारी भइरहेको र पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङ गोठगाउँको कोरोना अस्पताल लैजान लागिएको एसपी थापाले जानकारी दिए ।

गणलाई पूर्ण रुपमा सिल गरेर वाँकी ४३ जनाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । गणका प्रमुख थापाका अनुसार संक्रमित कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन ।