१३ बैशाख २०८१, बिहीबार

कार्यकक्षमै कुटिए श्रम कार्यालय मोरङका प्रमुख प्रेम सञ्जेल, महिला कर्मचारीद्वारा कुटपिट

Prem sanjel

मोरङको विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेम सञ्जेलमाथि महिला कर्मचारीले कार्यकक्षमै कुटपिट गरेका छन्।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो ।

उपसचिव संजेलमाथि शनिबार बिहान कार्यकक्षमै करार सेवाका महिला कर्मचारीले कुटपिट गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले करारमा कार्यरत दुई महिला कर्मचारीले उपसचिव सञ्जेलमाथि कार्यकक्षमै कुटपिट गरेको बताए।

कार्यालय सहयोगी पदमा कार्यरत मेनुका सापकोटा र नेत्र भट्टराईले ड्युटीको विषयलाई लिएर सञ्जेलमाथि कुटपिट गरेको खुलेको एसपी खड्काले बताए। कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र र मेनुकालालाई नियन्त्रणमा लिएको हो ।

उनीहरु दुबै करारका कर्मचारी हुन् ।

कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक उपरीक्षक सन्तोष खड्काले कुटपिट गर्ने कर्मचारी र सञ्जेलको विवादबारे बुझ्ने काम भइरहेकमे बताए ।

सञ्जेलको टेबलमा रहेका पञ्चिङ् मेशिन, पेपर वेट, फाइल बोर्ड लगायतले सञ्जेलमाथि प्रहार भएको प्रहरीको भनाइ छ। कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारमा चोट लागेको छ।

हातपात गर्ने कर्मचारी र सञ्जेललाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर छलफल भइरहेको खड्काले जानकारी दिए । कुटपिटमा संलग्न दुबै महिला कर्मचारीले सञ्जेलले अनावश्यक गालीगलौज गर्ने र एकलौटी रुपमा काममा खटाउने गरेकाले कुटपिट गरेको प्रहरीसमक्ष बताएका छन्।

प्रहरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् ।