१५ चैत्र २०८०, बिहीबार

शंकास्पद सुन प्रकरणः प्रहरीको अप्रेसनमाथि नै शंका, प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

Sun baramd Gold 5 1024x576 1

प्रहरीले १५ किलो ‘सुन’ बरामद प्रकरण विवादमा परेको छ । गत मंगलबार काठमाडौंको कमलादीबाट आधा किलो सुनसहित साढे १४ किलो चाँदी र दुईथान पेस्तोल बरामद गरेको भने पनि पछी आधा किलो मात्र सुन र बाँकी चाँदी भएको थाहा भएको हो ।

उक्त प्रकरणमा प्रहरीले सुन चाँदी र हतियार बरामद गरे पनि सामान बोक्न प्रयोग गरिएको गाडी भने उम्किन सफल भयो । सोही दिन भएको प्रेस सम्मेलना अनुसार को विवरण यस्तो थियो :

मंगलवार बिहान करिब ९ बजेतिर चेकिङ गर्ने क्रममा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कृष्ण पाउरोटीबाट आएको थियो। प्रहरी देखेपछि नरोकी हुइिकयो। रोक्न खोज्दा भागेपछि प्रहरीले फलो गर्‍यो। गाडीमा रहेका मानिसले भित्रबाट सेतो रंगको झोला गाडीबाट बाहिर हुत्त्याए। झोला सुन र दुई थान पेस्तोलले भरिएको थियो। प्रहरीले चेक गर्दा १५ किलोमध्ये आधा किलो मात्र सुन र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको प्रहरीले जानकारी दियो ।

मध्य शहरमा दिउँसै प्रहरीको सामुन्ने बाट तस्करीको गाडी फुत्किएपछि अनुसन्धान टोलीमाथि प्रहरीले अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

छानबिन समितिमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी किरण बज्राचार्य, एसपी सामेन्द्र सिंह राठोर, अपराध महाशाखाका डीएसपी दुर्गा दाहाल र परिसरका राजकुमार केसी रहेका थिए ।

अनुसन्धानको क्रममा प्रहरीले सार्वजनिक गरेको गाडी नम्बर समेत नक्कली भएको पत्ता लागेको हो । थापाथलीस्थित ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको नम्बर बा ६ च ५५११ थियो । पछि ५५१९ नम्बरको गाडी बाराका इन्साद हुसेनको भएको पाइएको थियो र त्यसबाट थप अनुसन्धान सुरु भएको थियो ।

त्यस्तै छानविन समितिले हेरेको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा प्रहरीले बताए अनुसारको घटनाक्रम देखिएन । समिति स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालले घटनास्थल समेत परिवर्तन गरेर माथिल्लो निकायलाई गुमराहमा राखेको र आफ्नो क्षेत्राधिकार बाहिरा गएको ठम्याइछ । डीएसपी दाहालले सुन्धारा पुगेर अपरेशन गर्दा काठमाडौं प्रहरी प्रमुख एसएसपी ज्ञवालीलाई त्यसबारे जानकारी दिएको नपाइएको स्रोतले बतायो ।

बुधबार अपराध महाशाखाका प्रमुख दीपक थापाको संयोजकत्वमा छानविन समिति गठन गरिएको भए पनि बिहीबार उनको ठाउँमा महानगरीय प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी सुशील यादवलाई संयोजक बनाइएको छ। महानगरीय प्रहरी कार्यालय कै एसएसपी किरण बज्राचार्यको सट्टा यादवलाई ल्याइएपछि उनी वरिष्ठताका आधारमा संयोजक भएका हुन्।