६ बैशाख २०८१, बिहीबार

राप्रपाबाट सुनिल थापासहित ३१ नेताले दिए संयुक्त राजीनामा

sunil bahadur thapa

कांग्रेसमा भित्र्याएर सहमहामन्त्री बनाउने देउवाको तयारी

पूर्वमन्त्री सुनिलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ३१ नेताले संयुक्त राजीनामा साथै सबै तहका पद र जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।

पार्टीका तीन अध्यक्ष (कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी)लाई पत्र लेख्दै ३१ नेताले संयुक्त रुपमा राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेमा पूर्वमन्त्री सुनिलबहादुर थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेतलगायत ३१ नेता रहेका छन् । 

नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

“पार्टी, संस्थापकहरुले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिवद्धता र आम जनमत विपरीत पार्टी गएकोमा हामीले विगतमा निरन्तर खबरदारी गर्दै आएको पार्टी पंक्ति जानकार नै छ,” राजीनामा पत्रमा उल्लेख गर्दै भनेका छन्, “तर पार्टी नेतृत्व पुनः ढुलमुले दृष्टिकोणमा अघि बढिरहँदा पार्टी एकीकरणपछि पनि आम आकर्षण नबढेको यथार्थ हो ।

हामीले यस सन्दर्भमा आफ्ना धारणा निरन्तर राख्दै आयौँ र नेतृत्व जनमतको प्रतिकूल दिशामा सहभागी भइरहेपछि हामी जनमतको अपमान हुने कार्यमा साथ दिन नसक्ने निष्कर्षमा पुगेका छौँ । उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्दतिका पक्षमा निरन्तर रहने गरि हामी आजका मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेबारबाट अलग रहने घोषणा गर्दछौं ।”

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको छोराले आफ्नै बुवाले स्थापना गरेको पार्टी छोडेर गम्भीर भूल गरेको बताए । 

‘यो सन्दर्भमा पार्टीमा छलफल हुन्छ । उहाँहरुले ठूलो राजनीतिक भूल गर्नुभएको छ । देशमा राष्ट्रवादी शक्ति निर्माणका लागि हाम्रो पार्टी लागि परेको छ’, नेता श्रेष्ठले भने, ‘राष्ट्रवादी शक्ति निर्माणका निम्ति असन्तुष्ट पक्षलाई पनि समेटेर अघि बढ्छौँ ।’  

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा छन् । थापालाई पदाधिकारी दिने बताइएको छ ।

श्रोतका अनुसार थापाको कांग्रेस प्रवेशको विषयलाई लिएर उपसभापति विमलेन्द्र निधि निरन्तर छलफलमा रहेका थिए । नजिक आउँदै गरेको महाधिवेशनलाई लिएर आफूलाई पनि सहयोग मिल्ने हुँदा थापालाई सहमहामन्त्री दिएर ल्याउने तयारीमा देउवा पुगेका दावी श्रोतको रहेको छ ।