१५ चैत्र २०८०, बिहीबार

आज पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा सुनुवाइ

ranjan supreme
सांकेतिक तस्विर

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्व डिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी गरेको फैसला पछी महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

दर्ता भएको पुनरावलोकनमा सुनुवाइका लागि आज (आइतबार) पेसी तोकिएको छ। जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो ।

पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचारधीन बनेको छ भने मागबमोजिम पुनरावलोकन हुनुपर्ने हो र होइन वा अनुमति दिने र नदिने विषयमा २ न्यायाधीशको इजलासमा सुनुवाइ गर्नुपर्ने व्यवस्था छ । अनुमतिका लागि सुनुवाइ गर्दा यसअघि मुद्दा फैसला गरेको भन्दा फरक न्यायाधीशले त्यसको व्यवस्थापन गर्नुपर्छ ।

पुनरावलोकनका लागि अनुमति दिएमा (निस्सा पाएमा) फैसलामाथि पुनर्विचार गर्ने वा सच्याउने प्रक्रिया सुरु हुन्छ । यसरी पुनरावलोकनका लागि अनुमति पाएका मुद्दाको सुनुवाइ सुरुमा फैसला गर्ने र अनुमति दिनेबाहेकका ३ जना न्यायाधीशको इजलासले गर्नुपर्ने कानुनी व्यवस्था छ ।

इजलासले मुद्दा पुनरावलोकनको अनुमति नदिएमा प्रक्रिया त्यहीँ अन्त्य हुन्छ र सोसँगै भइसकेको फैसलामाथि पुनर्विचार गर्ने वैधानिक बाटो समाप्त हुन्छ ।