१३ बैशाख २०८१, बिहीबार

रौतहटमा भारतीय महिलालाई नेपाल प्रवेश नदिँदा सशस्त्र प्रहरीमाथि आक्रमण, एक राउण्ड हवाई फायर

thumb 2

सीमानाका बन्द रहेको अवस्थामा नेपाल प्रवेश गर्न लागेका दुई भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा सरमझुवास्थित बोर्डर आउट पोस्ट(बीओपी) को टोलीमाथि भारतीय नागरिकको समूहले आक्रमण गरेको हो ।

शुक्रबार साँझ भारत बिहार पूर्वी चम्पारण घोडासहन थाना क्षेत्र अन्तरगत कोरैया गाउँकी २ महिला परोना नगरपालिका–८ नरकटिया सीमा हुँदै रौतहट प्रवेश गर्न लागेकी थिईन ।

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला भारतीय महिलालाई नआउन अनुरोध गर्दा प्रहरी टोलीमाथि हँसियाले आक्रमण गरेको सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटका प्रमुख एसपी रविनराज कर्णजितले बताए ।

पूर्वी चम्पारण, कबैया ६ अर्सलवाकी सीमादेवी कुसवाहाले हँसियाले सशस्त्र प्रहरीमाथि प्रहार गरेकी हुन्। हसिया प्रहारबाट सशस्त्र प्रहरी जवानको दाहिने हातमा घाउ लागेपछि आत्मरक्षाका लागि टोलीले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको सशस्त्रका एसपी रवीनराज कर्णजितले बताए ।

नरकटिया नाकामा ड्युटीमा खटिएका बोर्डर आउट पोष्ट सरमुजवाका सशस्त्र प्रहरीका १५ जनाको टोलीले ती महिलाहरुलाई प्रवेशमा रोक लगाएका थिए । सो क्रममा भारतीय गाउँ कोरैया र खरसलवाका झन्डै २ सय मानिस एक्कासी आएर ‘यताको जग्गा हाम्रो हो, हामी आउजाउ गर्न पाउनुपर्छ भनी भनाभन गरिरहेका थिए ।

‘झन्डै २ सयको हाराहारीमा जम्मा भएका भारतीयहरु निकै आक्रामक शैलीमा प्रस्तुत भएर हतियारसमेत खोस्ने प्रयासमा लागे,’ एसपी कर्णजितले भने, ‘कोरोना संक्रमणका कारण सीमामा आवतजावत नगर्न अनुरोध गर्दा उल्टै हतियार खोस्ने र आक्रमण प्रयास गरे।’

घटनापछि सीमा क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो।

घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी रवीनराज कर्णजितको कमान्डमा ५० जना सशस्त्र प्रहरी र इन्स्पेक्टर राकेश कुमार यादवको कमान्डमा ३५ जना नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

दुई पक्षीय छलफलपछि पक्राउ परेका भारतीय नागरिक कुश्वाहालाई राती १० बजे भारतीय सशस्त्र सीमा बल ७१ नम्बर बटालियनका इन्स्पेक्टर अजय कुमारको टोलीलाई जिम्मा लगाइएको एसपी कर्णजितले बताए ।

शनिबार सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी कृष्णभक्त ब्रह्माचार्य समेतको टोलीले घटनास्थलको निरिक्षण गरेका छन् । हाल नरकटिया नाकाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।