१४ बैशाख २०८१, शुक्रबार

वैदेशिक रोजगारको पीडाः मलेसियाबाट अपाङ्ग भएर फर्किए नरबहादुर

malaysia foreign employment

सुन्दर भविष्यको सपना बोकेर चार वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका झापा शिवसताक्षी–७ का ४३ वर्षीय नरबहादुर राई अपाङ्ग शरीर लिएर स्वदेश फर्किएका छन् ।

सरकारले कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने क्रममा राई केही दिनअघि मात्र स्वदेश फर्किएका हुन् । मलेसियाबाट काठमाडौँ हुँदै झापा आइपुगेका राई अहिले घरमै छन् । राईको शरीरको दाहिने पातो चल्दैन भने बोलीसमेत आउँदैन । नरबहादुर मलेसियामा कम्पनीमै काम गर्ने क्रममा चार महिना अघि दुर्घटनामा परेको परिवारले जनाएको छ ।

काठ र जस्ताले छाएको सानो दुई तले टाँडे घरको भुइँतलमा नरबहादुरलाई राखिएको छ । विदेशबाट फर्किएकालाई क्वारेन्टाइमा राखेर कोरोना भाइरस परीक्षणपछि मात्र घर पठाइने गरिएपनि राई अशक्त भएकाले घरमै लगिएको हो । उठबस गर्न नसक्ने अवस्थामा रहेका उनलाई कान्छा छोरा किरणले उठबस्, खानपान र स्याहारसुसार गरिरहेका छन् ।

स्थलगत रिपोर्टिङका क्रममा नरबहादुरको घरमा पुग्दा किरणले बुबाको स्याहारसुसार गरिरहेका थिए । त्यहाँ स्वास्थ्य सावधानी अपनाइएको नदेखिएपछि मास्कलगायतका स्वास्थ्य सावधानी अपनाउनभन्दा पीडा मिश्रित स्वरमा छोरा किरणले भने, “मैले सबै कुरा गर्नुपर्छ, बुबा आफैँ उठबस गर्न सक्नुहुन्न, नछोइ हुँदैन, मास्क लगाएर मात्र के गर्नु, बुबालाई कोरोना लागेको छ भने मलाई पक्कै लाग्छ ।”

गत मंगलबार कुनै जानकारी बिना अशक्त अवस्थामा एक्कासी बुबालाई घरमा ल्याइँदा छाँगाबाट खसेझै भएको किरणले बताए । “काम गर्ने क्रममा चार महिना अघि बुबा दुर्घटनामा परेको खबर आएको थियो”, उनले भने, “एक महिना अघि मात्र सम्पर्क गर्दा बोल्दै हुनुहुन्थ्यो, अहिले यस्तो अवस्थामा देख्दा धेरै पीडा भएको छ ।”

दुर्घटनामा परेपछि बुबाले घर आउने कुरा गर्ने गरेको किरणले बताए । “एक पटक सम्पर्क हुँदा मोबाइल पनि चोरी भएको बुबाले बताउनुभएको थियो”, उनले भने, “त्यसयता बेला बखत बुबाको साथीको मोबाइलमा सम्पर्क गर्दा कुरा हुने गरेको थियो ।” एक महिना अघि मात्र बुबाले घर आउने कुरा गरे पनि कोरोनाका कारण आउन नसकेको जनाएको उनले बताए ।

बोल्न नसके पनि लेखेर दिँदा र इसारामा कुरा गर्दा नरबहादुरले काम गर्ने क्रममा दुर्घटना भएको संकेत गरे । नरबहादुरको दाहिने हातको चोर औँला र माझी औँला छैन । दाहिने हात देखाउँदै उनले इसारामै आफ्नो पीडा पोखे ।

मलेसियाबाट त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएपछि उनलाई त्यहाँबाट सिधै झापाको मेची बहुमुखी क्याम्पसको होल्डिङ एरियामा ल्याइएको थियो । बोली नआएका कारण होल्डिङ एरियामा खटिएका सुरक्षाकर्मीलाई उनको घर पत्ता लगाउन निक्कै सकस परेको थियो । नेपाली सेनाको नयाँ श्रीनाथ गणको व्यवस्थापनमा रहेको होल्डिङ एरियाबाट ठूलो प्रयासपछि उनको घर शिवसताक्षी–७ रहेको पत्ता लागेको हो ।