२६ बैशाख २०८१, बुधबार

अस्पतालमा मोबाइलको टर्चको भरमा उपचार

kalikot upachar photo 2

सुन्दा अपत्यारिलो, तर वास्तविकता हो यो घटना । कालिकोट जिल्लामा रहेको जिल्ला अस्पतालमा विद्युत् अभावमा मोबाइलको टर्चकै भरमा बिरामीलाई उपचार गर्ने गरिएको छ । जिल्ला अस्पताल कालिकोट प्रशासनको लापरवाहिले अहिले जिल्ला अस्पताल अन्धकार भएपछी बिरामीलाई मोबाइलकै टर्च बालेर उपचार गरिरहनु परेको छ ।

कालिकोट जिल्लामा रहेको पोतमारा साना लघु जलविद्युत आयोजनाको नहर भत्किएपछि कालिकोटमा विद्युत् आपुर्ति ठप्प भएको छ । विकल्पमा बैकल्पिक उर्जाको व्यवस्थापन गर्न नसक्दा बिरामीहरु मर्कामा परेका छन् ।

‘अस्पतालमा भएको सोलार बिग्रेको छ । जेनेरेटको व्यवस्थापन गर्न सकेको छैन बत्ती गयो भने त अस्पताल अन्धकार हुने रहेछ’, आफ्नो धर्मपत्निको उपचारका लागि जिल्ला अस्पताल आएका नरहरिनाथ गाउँपालिकाका अर्जुन सहकारीले भने, ‘सरकारले दिएको रकम कता खर्च हुन्छ थाहा छैन ।’

जिल्ला अस्पतालमा विद्युत सेवा नहुँदा उपचार प्रभावित भएको छ भने रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको गुनासो गर्छन चिकित्सकहरु ।

यता जिल्ला अस्पताल कालीकोटका निमित्त कार्यालय प्रमुख डा. भिष्म पोखरेलले आफुहरुले जेनेरेटर बालेर सेवा दिइरहेको दाबी गरे । उनले भने, ‘विद्युत आपुर्ति बन्द भएकै दिन जिल्ला अस्पताल कालीकोटको जेनेरेटर बिग्रेकाले सानो जेनेरेटरबाट सेवा दिइरहेका र्छां ।’ डा. पोखरेलका अनुसार, जिल्ला अस्पतालमा सोलारको व्यवस्थापनका लागि पनि पहल गरेको बताए ।

प्रमुख पोखरेलले अहिलेसम्म जिल्ला अस्पतालमा ९ जना डाक्टरको दरबन्दी भएपछि एक जना आफुले मात्र रहेको बताए । जनशक्त्तिको अभावै अभावमा वषैदेखि खट्किएको छ ।