१६ चैत्र २०८०, शुक्रबार

पूर्वडीआईजी रञ्जन कोइराला थुनामुक्त, रिसिभ गर्न तारा रेग्मी डिल्लीबजार कारागार

dig ranjan koirala

सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्या गरेपछि जेल परेका हुन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले घटाएको हो ।

श्रीमतीको हत्या गरी शवनै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका पूर्वडीआइजी कोइराला साढे ११ वर्ष कैद छुट पाएर बिहीबार जेलमुक्त भएका हुन् । उनलाई शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा थानकोटबाट प्रहरीले पक्रेर मुद्दा चलाएको थियो । नेपाल प्रहरीबाट ०५८ सालमा सेवा परिवर्तन गरी कोइराला सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए ।

डिल्लीबजार कारागारका जेलर गणेश आचार्यका अनुसार कोइरालालाई रिहा गरिएको जानकारी दिए ।

प्रधानन्यायाधीश जबराको इजलासले कोइरालाको सजाय घटाउनुमा ‘श्रीमतीलाई तत्काल आवेशमा आइ हत्या गरेको देखिएको’ भनेको छ । ‘नाबालक छोराहरुको हेरचाह, संरक्षण र शिक्षादिक्षामा प्रभाव पर्ने देखिएको’ भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलाशले रञ्जनको सजाय घटाउने फैसला गरेको थियो । प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्नसक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन् ।

के थियो घटना ?

०५० मा रञ्जन र गीताको विवाह भयो, दुई छोरा जन्मिए । सम्बन्धमा खटपट भएपछि दुवैजना अलग बस्न थाले । बुढानिलकण्ठमा गीता बसेको घर उनकै नाममा थियो । रन्जनले छोडपत्र चाहेका थिए । तर, गीताले मानाचामल मुद्दा हालिन् ।

०६८ पुस २७ मा गीता ढकाल घरबाट हराइन् । माघ ८ मा रञ्जन गीताको हत्या आरोपमा पक्राउ परे । घरमा हत्या गरेर रञ्जनले सशस्त्रको गाडीमा गीताको शव मकवानपुरको टिष्टुङ जंगलमा लगेर जलाए ।

सशस्त्रले सुविधाले दिएको गाडीमा शव जलाउन उनले काठमाडौँबाट पेट्रोल र डिजेल लगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

माघ ७ मा शवको अवस्था बुझ्न रञ्जन टिष्टुङ पुगेपछि उनको अपराध पटाक्षेप भयो । त्यसपछि लगत्तै त्यहाँबाट उनी ‘डीआइजी हुँ’ भन्दै नारायणगढतर्फ लागे ।

कोइराला ८ माघमा काठमाडौँ आउँदै थिए । आफैंले चलाएको बा ८ च ५४०८ नम्बरको गाडीसहित उनलाई नागढुंगामा प्रहरीले हत्कडी लगाएको थियो ।

डीएनए परीक्षण र हड्डीमा बाँधिएको घडीबाट गीताको शव पहिचान भएको थियो ।

रिसिभ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगिन्

कोइरालालाई रिसिभ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी छिन् । बा १८ च ५४१७ नम्बरको कार चलाएर प्रेमी रञ्जनलाई लिन कारागार पुगेकी ताराले ‘रञ्जन र मेरो विवाह भइसकेको’ प्रतिक्रिया दिएकी छिन् ।

gita dhakal 16n8Uz0Jd5

कारागार बाहिर सञ्चारकर्मी सँग कुरा गर्दै उनले भनिन्, ‘हाम्रो विवाह भैसक्यो ।’ औपचारिक विवाहको प्रसङ्गमा उनी हाँसिन् ।

यता रञ्जन र गीता ढकालका दुई छोराहरु छन् । गीताको हत्या गरेर जेल परेका रञ्जन रिहा हुँदा उनका छोराहरु रिसिभ गर्न आएनन।