१६ चैत्र २०८०, शुक्रबार

कम्युनिष्ट नेता बर्मन बुढाको निधन

Barman Budha

पूर्वसांसद बर्मन बुढाको निधन भएको छ । रोल्पाको थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बरमन बुढा ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको हो ।

बुधबार बिहान साढे ४ बजे पाटन अस्पतालमा उनको निधन भएको छोरी विजया बुढामगरले जानकारी दिइन् । ९० वर्षका उनी क्यान्सर रोगबाट पीडित थिए । एक हप्ता अघिदेखि उनलाई जन्डिसले पनि च्यापेको थियो ।

विगत एक वर्षदेखि उनको आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो ।

बरमन बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका थिए । जनमोर्चाका विजयी ९ सांसदहरुमध्ये एकजना बरमन बुढा थिए । त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए 

२०४८ सालमा भएको आम निर्वाचनमा उनले संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नंबर १ बाट चुनाव जितेका थिए । पूर्वसभामुख कृष्णबहादुर महरा र उनले त्यो बेला रोल्पाबाट चुनाव जितेका थिए । निर्वाचन जितेर काठमाडौं आएका उनी प्रतिनिधि सभाको बैठकमा कछाड बाँधेर जाने गर्थे ।

तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत बरमन बुढा होमिएका थिए ।

गाउँमा मुखियाहरुको अन्याय अत्याचारको विरोध गर्दा उनी जेल परेका थिए । प्युठान कारागारमा बस्दा मोहनविक्रम सिंहसँगको संगतले उनलाई कम्युनिष्ट बनाएको थियो । त्यसपछि २०१२ सालमा थवाङ फर्किएर उनले कम्युनिष्टको बिजारोपण गरेको बताइन्छ ।

लामो समय कम्युनिष्ट राजनीति गरेका बुढा पछिल्लो समय ललितपुर एकान्तकुनामा छोरीसँग बस्दै आएका थिए ।