१६ चैत्र २०८०, शुक्रबार

लमजुङको क्‍वारेन्टिमा बसेका २३ वर्षीय युवकले गरे आत्महत्या

hanging and death

लमजुङमा क्‍वारेन्टिनमा बसेका एक २३ वर्षीय युवकको मृत्यु भएको छ ।  क्होलोसोंथर ९, गिलुङ क्‍वारेन्टिनमा बसेका २३ वर्षीय युवराज घर्तीले झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

लकडाउनअघि नै बुटवलस्थित दिदीको घर गएका घर्ती असार ३१ गतेमात्र गाउँ फर्किएका थिए।

बिहीबार राती झुण्डिएको अवस्थामा फेला परेको लमजुङ प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

बुद्धोदय माविमा बनाइएको क्‍वारेन्टिनमा उनी असार ३१ गतेदेखि बस्दै आएका थिए । उनको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

क्व्होलासोंथर गाउँपालिका ६ स्थायी घर भएका उनी गत असार ३१ गते बुटवलवाट घर आएका थिए । बिहीबार दिउँसो मात्र उनलाई क‍्वारेन्टाइनमा राखिएको थियो । क‍्वारेन्टाइनमा घर्ती मात्र बसेका थिए ।

गिलुङस्थित बुद्धोदय माविमा बनाइएको क्वारेन्टिनमा घर्तीलाई असार ३१ गतेदेखि नै राखेको कोलासोंथर-९ का वडाध्यक्ष नन्दजंग गुरुङले बताए। क्वारेन्टिनमा घर्ती एक्लै बसेका थिए। उक्त क्वारेन्टिनमा यसअघि सिङ्दी र कुमलुङका २ जना युवा बसेर घर गएका थिए।

क्वारेन्टिनमा एक्लै बस्दा आत्तिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

‘घर्तीले आफ्नो गाउँमा फोन गरेर गोठमा गएर बस्छु बरु क्वारेन्टिनमा बस्दिनँ भनेका रहेछन्’, वडाध्यक्ष गुरुङले भने, ‘हामीलाई केही भनेन, थाहा नै पाइएन।’

बुद्धोदय माविमा बनाइएको क्वारेन्टिनमा बस्न, खानको व्यवस्था वडाले मिलाएको समेत गुरुङले बताए।

घटनापश्चात घर्तीको परिवार पसगाउँबाट घटनास्थल आउँदै गरेको र शवको पोष्टमार्टम गर्न जिल्ला सदरमुकाम बेंसीशहर लैजाने तयारी भएको वडाध्यक्ष गुरुङले बताए।

पश्चिम लमजुङमा पर्ने पसगाउँ लमजुङको दुर्गममा पर्छ।