आउँदो वर्षको दशैंलाई टार्गेट गर्दै आधा दर्जन बढी फिल्मको घोषणा

नेपाली फिल्म बजारमा दशैंको महत्व विशेष रहँदै आएको छ। यो वर्षको दशैंमा रिलिज भएका तीन फिल्मले उल्लेखनीय व्यापार गरेपछि निर्माता–निर्देशकहरू आउँदो वर्षको दशैंका लागि फिल्म घोषणा गर्न हतारिएको देखिन्छ। हालसम्म आधा दर्जन बढी फिल्म आउँदो वर्षको दशैंमा रिलिज हुने गरि योजना बनिसकेको छ भने अन्य निर्माता पनि यस दिशामा अघि बढिरहेका छन्।
निर्माता रोहित अधिकारीले आफ्नो नयाँ फिल्म ‘माइतीघर’को घोषणा गर्दै आगामी वर्षको दशैंको फूलपातीका दिन रिलिज गर्ने बताएका छन्। फिल्मको छायांकन आउँदो चैत्रमा सुरु हुने भए पनि अहिलेसम्म कलाकार चयन भइनसकेको रोहितले जानकारी दिए।
यस्तै, निर्माता सुशील पोखरेलले फिल्म ‘परालको आगो’को दशैं रिलिजको घोषणा गरेका छन्। उनले नायिकाका लागि सुहाना थापालाई अनुबन्ध गरिसकेका छन्।
यसैगरी, अभिनेता तथा निर्माता विराज भट्टले आफ्नो बम्पर हिट फिल्म ‘१२ गाउँ’को सिक्वल ‘१२ गाउँ २’लाई दशैंमा ल्याउने तयारी गरिरहेका छन्। यस वर्ष ‘१२ गाउँ’को सफलताले उनलाई थप प्रेरित गरेको बताइएको छ।
निर्माता तथा निर्देशक अशोक शर्माले पनि अभिनेता खगेन्द्र लामिछानेको मुख्य भूमिकामा निर्माण गर्न लागेको नयाँ फिल्म दशैंमा रिलिज गर्ने बताएका छन् । उता, निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म दशैंमा आउने चर्चा भए पनि औपचारिक घोषणा भइनसकेको छ।
गत वर्षको सुपरहिट फिल्म ‘महाजात्रा’का निर्देशक प्रदीप भट्टराईले त आफ्नो नयाँ फिल्मको घोषणा अघिल्लो वर्ष नै गरेका थिए। फिल्मको अन्त्यमा “वि.सं. २०८२ को दशैंमा भेटौँला” भन्ने सन्देश दिइएको थियो।
फिल्म जुधाइको जोखिम
एउटै मितिमा आधा दर्जनभन्दा बढी फिल्म प्रदर्शन हुँदा बजारले सबै फिल्मलाई स्विकार गर्न सक्ने या नसक्ने भन्नेबारे अझै शंका छ। यद्यपि, हलहरूको संख्या बढ्दै गएको र दर्शकको क्रयशक्ति बढिरहेको कारणले पनि निर्माता दशैंलाई उपयुक्त अवसर मानिरहेका छन्।
दशैंको समयमा दर्शकहरूको उत्साहजनक उपस्थिति र नेपाली फिल्मले लामो समयदेखि पाएको समर्थनका कारण यसलाई ‘सुनौलो समय’ मान्ने चलनले बजारलाई थप व्यस्त बनाएको छ। निर्माता र निर्देशकहरूको हतारोले फिल्मको गुणस्तरलाई कत्तिको असर गर्छ भन्ने प्रश्न भने समयले नै देखाउने छ।
फिल्मको घोषणा तिब्र भइरहेकाले आउँदो वर्षको दशैंमा नेपाली फिल्म बजारमा प्रतिस्पर्धा झन् चर्को हुने देखिएको छ। अब, दर्शकले कुन फिल्मलाई रोज्ने र कत्तिको सफल बनाउने भन्ने हेर्न बाँकी छ।