Close Me
१३ माघ २०८१, आईतवार

इन्टर मिलान शिर्ष स्थानमा: फेयनोर्डले म्यानचेस्टर सिटीलाई बराबरीमा रोक्यो, बार्यनको संघर्षपूर्ण जित

manchester city feyenoord

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी नेदरल्यान्डस्‌को फाइनडसँग तीन-तीन गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सिटीले तीन-शून्यको अग्रता जोगाउन सकेन ।

इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले ४४ औं मिनेटमा अर्लिङ हालान्डको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा सिटी यही स्कोरलाइन राख्न सफल भयो । ५० औं मिनेटमा इल्काइ गुन्डवानले टिमका लागि दोस्रो गोल गरे ।

५३ औं मिनेटमा हालान्डले पुन: गोल गरेपछि सिटीले सहज जित हात पार्ने अनुमान थियो । तर ५ हजार ट्राभलिङ फ्यानको साथ पाएको डच साइडले अन्तिम समयमा सिटीको डिफेन्सिभ ब्लन्डरको फाइदा उठायो । ७५ औं मिनेटमा आनिस हाड्ज मुसाको गोलमार्फत पाहुना टिम खेलमा फर्किएको हो ।

८२ औं मिनेटमा सब्सिच्युट सान्टियागो हिमिनेजले सिटीसँगको दुरी तीन एकमा झारे । ८९ औं मिनेटमा डाविड हान्कोले गोल गर्दै खेल बराबरी गरेपछि घरेलु समर्थक स्तब्ध बने । च्याम्पियन्स लिगको इतिहासमा सिटी ७५ औं मिनेटमसम्म तीन-शून्यको अग्रता लिए पनि जित्न नसक्ने पहिलो टिम बनेको छ ।

सिटीले सन १९६३ यता लगातार ६ खेलमा पाँच वा सोभन्दा बढी गोल खाएको पनि यो पहिलो पटक नै हो । तालिकाको १५ औं स्थानमा रहेको सिटीको ५ खेलबाट ८ अंक छ । आर्सनलले भने स्पोर्टिङलाई पाँच एक गोलको फराकिलो अन्तरले पराजित गर्यो । सातौं मिनेटमा गाब्रिएल मार्टिनेजले गोलको खाता खोलेका थिए ।

२२ औं मिनेटमा काइ हाभर्टस र इन्जुरी समयमा गाब्रिएले गोल गरेका थिए । ४७ औं मिनेटमा घरेलु टोलीका गोन्सालोले गोल फर्काएका थिए । तर ६५ औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा र ८२ औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै मिकेल अर्टेटाको टिमलाई तीन अंक दिलाए । सातौं स्थानको आर्सनलको ५ खेलबाट दश अंक छ ।

पीएसजीमाथि बार्यनको एक-शून्य गोलको संघर्षपूर्ण जित

बार्यन म्युनिखले च्याम्पियन्स लिगमा दश खेलाडीमा समेटिएको पेरिस सेन्ट जर्मेन पीएसजीमाथि एक-शून्य गोलको संघर्षपूर्ण जित हात पारेको छ । युरोपियन प्रतिस्पर्धामा पीएसजी सेप्टेम्बर यता जितविहीन छ ।

जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा ३८ औं मिनेटमा किम मिन जायले डेडलक तोडेका थिए । जोसुवा किमिखको कर्नरलाई पीएसजीका गोलकिपर मात्वे साफोनोभले राम्रोसँग डिल गर्न नसकेको बलमा किम मिनले हेडर गोल गरेका थिए ।

उनको च्याम्पियन्स लिगमा यो पहिलो गोल हो । ७५ हजार समर्थकको उपस्थिति रहेको खेलमा फ्रेन्च क्लब दश खेलाडीमा झरेपछि थप दबाबमा आएको थियो । ५६ औं मिनेटमा उस्मान डेम्बेलेले दोहोरो पहेँलो कार्ड पाएका हुन् । जमाल मुसियालाको प्रहारको उत्कृष्ट बचाउ गर्दै साफोनोभले पीएसजीलाई थप गोलबाट जोगाएका थिए ।

अन्तत: पहिलो हाफमा किम मिनले गरेको गोल नै बायर्नको जितमा निर्णायक सावित भयो । पाँच खेलबाट ९ अंक जोडेको बायर्नले यो जितपछि सिधै छनौट हुने सम्भावनालाई जीवितै राखेको छ । पीएसजीको भने यो तेस्रो हार हो । चार अंकका साथ २६ औं स्थानमा रहेको पीएसजी प्ले अफभन्दा बाहिर छ ।

इन्टर मिलान शीर्ष स्थानमा

इटालियन क्लब इन्टर मिलान यस सिजनको युइएफए च्याम्पियन्स लिगमा अपराजित रहेको छ ।

गएराती सम्पन्न खेलमा इन्टर मिलानले जर्मनी क्लब आरबी लेइपजिङलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा खेलको २७औ मिनेटमा आरबी लेइपजिङका कास्टेलो लुकेबाले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि इन्टर मिलानको ५ खेलमा १३ अंकसहित शिर्ष स्थानमा रहेको छ । इन्टरले यस सिजनमा अहिलेसम्म ५ खेलमा ४ जित र एक बराबरी खेलेको छ ।

त्यस्तै आरबी लेइपजिंगले भने यस सिजनमा लगातार पाँच हार बेहोरेको छ । दोस्रो स्थानमा उक्लिएको बार्साको १२ अंक छ ।

अर्को खेलमा एट्लेटिको मड्रिडले स्पार्टालाई छ-शून्य गोलको फराकिलो अन्तरले पराजित गर्यो । एट्लेटिको जितमा युलियन अल्भारेज र एंखल कोयराले दुई-दुई तथा मार्कोस लोरेन्ट र एन्टोइन ग्रिजमनले एक एक गोल गरे । बायर लिभरकुसेनले साल्जबर्गलाई पाँच-शून्य, एटालान्टाले योङ ब्वाइजलाई ६ एक र एसी मिलानले स्लोभानलाई तीन दुइ गोलले पराजित गरेका छन् ।