
नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको भएपनी त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन । सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न–देख्न पाउँदैनन् ।
गत जेठ १८ गते दार्चुलाको व्यास–१ छाङरुस्थित बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) बाट सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वमा कालापानी हिंडेको भएपनी त्यहाँभन्दा १.२ किलोमिटर वरैबाट फर्किएको छ । उनिहरु करिब ६ घण्टा हिँडेर मल्लो (माथिल्लो) कौवाभन्दा केही माथिको क्षेत्रसम्म मात्र पुगे ।
भारतले बनाएको नक्कली काली मन्दिरभन्दा १.२ किलोमिटरयता भारतीय फौजसँग उनीहरूको भेट भएपछी भारतीय पक्षले ‘निषेधित क्षेत्र’ भन्ने जानकारी दिए । तय्स्पछी नेपाली टोली त्यहींबाटै फर्कियो । ‘हामी तल्लो कौवा, माथिल्लो कौवा हुँदै कालापानी क्षेत्र नजिक पुगेका थियौं’, एक सुरक्षाकर्मीले भने, ‘भारतीय सुरक्षाकर्मीले निषेधित क्षेत्र भनेपछि अगाडि जान चाहेनौं ।’
छाङरुबाट कालापानी १४ किलोमिटर दूरीमा पर्छ ।
उक्त घटनाले कालापानी, लिपुलेक, गुन्जी, नाभी, कुटी, लिम्पियाधुरा अझै हाम्रो पहुँचमा नरहेको देखाएको छ । छाङरुमा गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर अब्जरभेसन पोस्ट बीओपी स्थापना गरिएको थियो । त्यसपछि निरन्तर सीमा क्षेत्रमा गस्ती, पेट्रोलिङलाई तीव्रता दिइएको सशस्त्र प्रहरीले जनाएको छ । मल्लो कौवा, तल्लो कौवा, टिंकरलगायत क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती गरिरहेको छ ।
छारुङबाट २१ किलोमिटर दूरीमा रहेको नेपाल–चीन सीमास्थित १ नम्बर पिलर सम्म नेपाली सुरक्षा फौजले गस्ती गरिरहेको छ । छारुङबाट टिंकर भञ्ज्याङ ११ किलोमिटर दूरीमा पर्छ । व्यास–२ दुम्लिङ अनि मालिकार्जुन–७ जोलजिवी र लेकम गाउँपालिका–३ लालीमा पनि बीओपी स्थापना गरिएका छन् । माथिल्लो कौवा र टिंकरमा बीओपी राख्ने तयारी छ भने नियमित गस्ती भइरहेको पनि छ।
सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म दार्चुलाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्ट (दीपेन्द्र)ले सीमा क्षेत्रमा सशस्त्रको गस्ती र पेट्रोलिङ भइरहेको बताए । उनका अनुसार सीमावर्ती क्षेत्र सीतापुलमा २४ घण्टा गस्ती भइरहेको छ ।
नयाँ नक्सा जारी गरिएपछि भारतीय पक्षले कालापानी जान नेपालीमाथि थप कडाइ गरेको पाइएको छ।

भारतले कालापानीमा नक्कली काली मन्दिर , नक्कली कुण्ड र नक्कली काली नदीसमेत बनाएको छ । त्यहाँ नेपाली भूभाग अतिक्रमण गरी सन् १९६२ आसपासदेखि नै भारतीय फौज बस्दै आएको छ । नेपाली भूभाग कालपानी, नाभीडाङ, गुन्जी, नाभीमा भारतले ठूलो संख्यामा सुरक्षा फौज राखेको छ ।।
सशस्त्र प्रहरी टोली कालापानी पुग्न नपाएकोबारे छाङरु बीओपीले जिल्लास्थित सुरक्षा निकाय हुँदै गृह मन्त्रालयमा जानकारी पठाइसकेको छ तर दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले यो मामिलामा जानकारी नभएको प्रतिक्रिया दिए । सरकारले छाङरु र टिंकरका स्थानीयका लागि हेलिकप्टरबाट रासन ढुवानी थालेको छ ।
छाङरु र टिंकरमा १२ सय २० जनसंख्या छ। छाङरुमा ११९ घर छन् भने टिंकरमा ७० घर । तर, त्यहाँ ५० प्रतिशत मात्रै पुगेका छन्। त्यहाँका बासिन्दा चिसोका कारण ६ महिना सदरमुकाम दार्चुला झर्छन् । त्यसमाथि लकडाउनका कारण समस्या परेको छ ।
सशस्त्रको बीओपी राख्ने भनिएको कौवामा समतल भूभाग छ । तर, त्यहाँ मानव बस्ती छैन । नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले ६० वर्षदेखि अतिक्रमण गर्दै आएको छ । भारतले सडक बनाउने क्रममा पहाड फोड्न विस्फोटक पड्काउँदा नेपालतर्फ बाटो बनाउन अवरोध हुँदै आएको छ ।