१५ बैशाख २०८१, शनिबार

‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्ने ज्योतिष अर्जुन पक्राउ, जग्गा व्यवसायीसँग ५० लाख असुल्ने दाउमा

Arjun

ज्योतिष भन्दै गलत हल्ला फिजाएर चर्चा कमाउन खोेज्ने अर्जुन थापा क्षेत्रीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ। क्षेत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो ।

आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षेत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो । आरोपितको थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिल्यो ।

नक्कली अख्तियार प्रमुख बनाएर जग्गा व्यवसायीसँग ५० लाख असुल्ने दाउमा थियो अर्जुन क्षेत्रीको समूह

काठमाडौंको बुढानिलकण्ठ-२ चपलीहाइटमा प्लटिङको जग्गा थियो। उक्त प्लटिङमा सरकारी जग्गा पनि परेको हल्ला थियो। जग्गाबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको गाइँगुइँ चलेको थियो।

यो हल्ला आफूलाई ज्योतिष भन्ने अर्जुन थापा क्षेत्रीले पनि सुने। उनी कपन क्षेत्रमा बस्थे। उनको समूहमा अरू मानिसहरू पनि थिए।

त्यसपछि उनीहरूले प्लटिङ गर्ने मानिसबाट पैसा असुल्ने योजना बनाए।

आयोग स्रोतका अनुसार अर्जुनको ९ जनाको टोलीले आफैं सिंगो अख्तियार नै खडा गर्‍यो।

सुरूमा उनीहरूले प्लटिङ गर्नेलाई आफूहरू अख्तियारको मान्छे भएको बताए।

‘यो जग्गाको अख्तियारमा अनुसन्धान भइरहेको छ’ भने। एक जनालाई सहसचिव भनेर चिनाए। सहसचिव बनेका व्यक्ति सरकारी ड्रेस कोडअनुसारकै लुगा लगाएर हिँड्थे।

जग्गा मालिकले सोधे-मुद्दा मिलाउन के गर्नुपर्छ?

उनीहरूले भने- हामीलाई पाँच करोड दिनुपर्छ। त्यति भएपछि अनुसन्धान रोकिदिन्छौं।

तर जग्गाका मालिकले सहसचिवसँग मात्र कुरा गरेर नहुने अख्तियार प्रमुखसँगै कुरा गर्ने बताए।

त्यसपछि उनीहरूले आफूहरूमध्येबाट एक जनालाई अख्तियार प्रमुख बनाए। मोबाइलबाट जग्गा मालिकसँग कुरा गर्न लगाए।

जग्गा मालिकले पनि त्यति ठूलो पैसा दिन नसक्ने बताए। बार्गेनिङ चल्यो। अर्जुनको समूह ५० लाख दिए कुरा मिलाउनेमा सहमत भयो।

जग्गा मालिक पनि त्यति सोझा थिएनन्। त्यतिञ्जेल उनीहरूको यस्तो हर्कतबारे उनले आयोग कार्यालयमा सूचना दिइसकेका थिए।

बिहीबार राति उनले पैसा बुझाउने भने। अख्तियार र महानगरीय अपराध महाशाखाको टोली ५० लाख रुपैयाँ बोकेर कपन गयो।

५० लाख आउने भयो भनेर मख्ख परेका अर्जुन पैसा लिन खोज्दा पक्राउ परे। उनीसँग कुरा गर्दा थाहा भयो- ठगीमा अरू पनि छन्।

‘समय पाए भने भाग्लान् भनेर रातभरि उनीहरू सबैलाई पक्राउ गरियो,’ अख्तियार स्रोतले भन्यो।

पक्राउ पर्नेहरूमा विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरूङ, शम्भुप्रसाद रेग्मी, शंकरविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेल छन्। उनीहरूलाई गौरीघाट, गौशाला र पुरानो बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको आयोगले जनाएको छ।

यी ९ जनाविरूद्ध अपराधिक लाभ लिन खोजी मोबाइलबाट पटक-पटक मिसकल गर्ने, फोन रिसिभ गर्दा आफूलाई अनुसन्धान अधिकृत बताउने, अनुसन्धान प्रक्रिया अगाडि बढेको भनी जानकारी गराउने, अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुसजस्ता एसएमएस पठाउने, फोन गरी भेट्न बोलाई डर धाकधम्की देखाई बार्गेनिङ गर्नेलगायत उजुरी परेको अख्तियारले जनाएको छ।

उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा टेकुमा पठाइएको छ।