२३ बैशाख २०८१, आईतवार

विजय बराल भन्छन् – मलाई फिल्म नखेल्दैमा केही हुँदैन, बरु नाटक गर्छु

416030470 1431991047404623 8607867086640853668 n

कुनै पनि फिल्म सहायक पात्रबिना अपुरो हुन्छ । फिल्ममा मुख्य पात्रलाई काँध थाप्न सहायक पात्रकै ठूलो भूमिका रहन्छ । नेपाली फिल्ममा केही यस्ता कलाकार छन्, जो सहायक भूमिकामा उच्च रोजाईमा छन् । त्यसमध्ये एक हुन्, विजय बराल । विशेषगरी अभिनेता दयाहाङ राईसँग उनको केमेन्ट्री रुचाइने गरिन्छ । ‘कबड्डी’ सिरिजमा दयाहाङको पात्रलाई बलियो बनाउने नै उनै हुन् ।

विजयले दयाहाङको साथी भएर धेरै फिल्ममा काम गरिसकेका छन् । यही माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको दुई फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’मा पनि उनीहरुको जोडी छुटेको छैन । विजयलाई दयाहाङसँग लगातार फिल्ममा काम गर्दा मोनोटोनस भने लाग्दैन । बरु एकसाथ काम नगर्दा उनलाई खल्लो महसुस हुन्छ । दयाहाङसँग काम गर्न निकै सहज हुने उनको अनुभव छ ।

हालै एक भेटमा पत्रकारको प्रश्नमा उनले भने, ‘दया दाईसँग फेरि काम गर्नुपर्‍यो भनेर मोनोटोनस लाग्दैन । मेकरलाई चरित्र चाहिँ अलि फरक दिनु न भन्ने गर्छु । दया दाईसँग काम गर्न रमाइलो हुन्छ । हामीले सँगै यात्रा गरेको १६/१७ वर्ष भइसक्यो । फिल्ममा हामी सँगै नहुँदा दया दाई कहाँ हुनुहुन्छ जस्तो लाग्छ ।’ पारिश्रमिकमा भने आफूहरुबीच ठूलो अन्तर रहेको विजयको भनाई छ ।

अहिले पारिश्रमिक चित्त नबुझ्दा फिल्म छाड्ने गरेको उनी बताउँछन् । ‘मलाई के डर छैन भने फिल्म नखेल्दैमा मलाई केही हुँदैन, मेरो थिएटर छ, बरु त्यहीँ नाटक गर्छु । त्यसैले पारिश्रमिक चित्त नबुझेपछि फिल्म छाडिहाल्छु,’ विजय भन्छन्, ‘अहिले फिल्मलाई बोक्ने दया दाईहरु हो । त्यसैले पारिश्रमिक उच्च हुने भैहाल्यो । मेरो चाहिँ कममा पनि कतिसम्म बस्ने भन्ने एउटा ‘क्याटोगोरी’ छ ।’

दयाहाङ भने विजय र आफू एकअर्काबिना अपुरो रहेको तर्क गर्छन् । ‘विजय र मेरो दिनमा एकपटक कुरा भएन भने हामी अपुरो हुन्छौं । हाम्रो त्यस्तो सम्बन्ध छ । मैले काम गर्ने फिल्ममा पक्कै विजय पनि हुनेछ भन्ने लाग्छ । हामीले सँगै काम गर्न पाउँदा खुसी लाग्छ,’ उनी सुनिए । दयाहाङ र विजयसहितको समुहले काठमाडौंस्थित थापागाउँमा मण्डला थिएटर पनि सञ्चालन गरिरहेको छ ।

    सम्बन्धित समाचार...