१६ बैशाख २०८१, आईतवार

रिगललाई तत्काल पक्राउ गरी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन सर्वोच्चको आदेश

rigal

सर्वोच्च अदालतले योगराज ढकाल रिगलको आममाफीलाई बदर गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।

नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको ठहर गर्दै अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका रिगललाई स‌ंविधान दिवसका अवसरमा आममाफी दिइएको थियो ।

कैद मिनाह बदरको फैसलासँगै सर्वोच्चले रिगललाई पुन: पक्राउ गरी कारागार चलान गर्न पनि आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै अब रिगलले राष्ट्रपतिबाट कैद मिनाह भएको ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्नु पर्नेछ । यस्तै कैद कट्टी गर्ने, कम गर्ने अथवा मिनाहा दिने जस्ता निर्णय गर्दा पीडितको हक संरक्षित रहने, अदालतको आदेश र प्रतिपादित सिद्धान्तसहित वस्तुगत आधार तथा उचित कारण खुलाउनसमेत राष्ट्रपति कार्यालय लगायत विपक्षीको नाममा परमादेश जारी गरेको छ ।

रिगलको कैद मिनाहविरुद्ध मानन्धरकी श्रीमती भारती शेर्पाले दायर गरेको रिटमाथि सर्वोच्चको पूर्ण इजलासमा मंगलबार र बुधबार सुनुवाइ भएको थियो । निवेदक र विपक्षी दुवैतर्फका कानुन व्यवसायीको बहस सकिए पनि फैसला भने आज मात्रै सुनाइएको हो ।

सर्वोच्चले अदालतमा विचाराधीन मुद्दाको विषयमा अल्प सूचनाको आधारमा समाचार सम्प्रेषण नगर्न र न्यायिक प्रकृयामा रहेका विषयमा अनावश्यक भ्रमपूर्ण सूचना नदिनसमेत भनेको छ । आफ्ना श्रीमान चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद् र त्यसको कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

रिगलमाथि २०७२ असार २८ गते बाँकेका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको आरोप लागेको थियो ।

हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । संविधान दिवसका दिन असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ६ सय ७० जनालाई कैदीमाफी गरिदिएका थिए ।

अदालतको आदेशलगत्तै रिगल पक्राउ

सर्वोच्च अदालतले कैद मिनाहको निर्णय बदर गरेलगत्तै योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् ।

प्रहरीले उनलाई बाँकेबाट पक्राउ गरेको जनाएको छ । यसअघि आजै सर्वोच्चले रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गरी कारागार चलान गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशलगत्तै प्रहरीले उनको खोजी गरेको थियो । अदालतले रिगलले भुक्तान गर्न बाँकी कैद सजाय कट्टा गर्ने (कम गर्ने/छोट्याउने) गरी भएका काम कारबाही, राष्ट्रपतिबाट भएको निर्णय र सो सम्बन्धी पत्राचारहरुसमेत उत्प्रेषणको आदेशले बदर हुने ठहर गरेको थियो ।

सर्वोच्चको निर्णयमा भनिएको छ ‘निज प्रत्यर्थी रिगल ढकाललाई तत्काल पक्राउ गरी माथि उल्लेख भएबमोजिमको कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैद मध्ये निजबाट असुल उपर हुन बाँकी देखिएको एघार वर्ष, एघार महिना, पाँच दिन कैद निजलाई कारागारमा राखी कानुन बमोजिम असुल गर्नु भनी प्रत्यर्थीहरुका नाममा परमादेश जारी हुने ठहर्छ ।’

२०७२ असार २८ गते बाँकेका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

भारतीले तोडिन् अनशन

रिगलको कैद मिनाहा बदर गर्ने निर्णय सुनाएसँगै भारती शेर्पाले अनसन तोडेकी छन् ।

नेपालगन्जका चेतन मानन्धरको हत्यापछि जिल्ला अदालत बाँके र उच्च अदालत नेपालगञ्जको फैसलासँगै कैद सजाय भोगिरहेका ढकाललाई राष्ट्रपतिले संविधान दिवसको अवसरमा बाँकी कैद माफी दिएपछि भारतीले सर्वोच्चमा रिट दर्ता गरी माइतीघरमा अनशन बस्दै आएकी थिइन् ।

त्यस्तै, जघन्य अपराधमा संलग्नलाई कैदमाफी दिने निर्णय उल्ट्याएर सर्वोच्चले नजिर स्थापित गरेको संविधानविद् विपिन अधिकारीको बुझाइ छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवसका दिन जघन्य अपराधमा संलग्नलाई समेत कैदमाफी दिएपछि चौतर्फी आलोचना भएको थियो ।

सर्वोच्च सुनाएको फैसलाको पूर्ण पाठ :

    सम्बन्धित समाचार...