१६ बैशाख २०८१, आईतवार

दुर्गा प्रसाईंलाई पक्राउ गर्न ओलीले गुहारे प्रचण्डलाई गुहारेका हुन् ?

Oli prachanda Singhadarbar 1 768x491 1
फाइल फोटो

आफूविरुद्ध अनर्गल प्रचार गरेको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी एवम् अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । ओलीले प्रसाईंको अराजकताले सिमा नाघेको भन्दै तत्काल एक्शन लिन आफूलाई भनेको कुरा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका छन् । हिजो आइतबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले नेताहरुसँग ओली र आफूबीच गत शुक्रबार सिंहदरबारमा भएको भेटवार्ताको ब्रिफिङ गर्ने क्रममा यस्तो खुलासा गरेका हुन् ।

प्रसाईं केही समय पहिलेसम्म एमालेमा सक्रिय थिए । उनलाई अध्यक्ष ओलीले नै पार्टीको केन्द्रीय समितिमा मनोनित गरेका थिए । तर, पछि बैंक तथा वित्तिय संस्थाविरुद्ध आन्दोलन छेडेर पूर्वराजा ज्ञानेन्द्र शाहको शरणमा पुगेपछि एमाले नेतृत्वले प्रसाईंलाई पार्टीबाट निश्काषित गरेको थियो । प्रसाईंले एमाले अध्यक्ष ओलीलाई हजुरबुवा भनेर सम्बोधन गर्ने गरेका छन् । पछिल्लो समय केही व्यापारीहरुको भण्डाफोर गर्न प्रसाईंले आयोजना गरेको पत्रकार सम्मेलनस्थलमा नै पुगेर युवा संघका नेता तथा कार्यकर्ताहरुले उनीमाथि मोसो दलेका थिए । त्यसपछि प्रसाईं बिच्किएका छन् ।

अहिले प्रसाईं र एमाले युवा नेता महेश बस्नेत आमनेसामने भएका छन् । प्रसाईं समर्थकहरुको चेतावनीका बावजुद बस्नेतको प्रमुख आतिथ्यतामा झापाको अर्जुनधारामा युवा संघले आफ्नो अधिवेशन सम्पन्न गरेको थियो । त्यस क्रममा प्रसाईं समर्थकहरुले युवा संघका नेता तथा कार्यकर्ताहरुले पार्क गरेर राखेका केही थान गाडी तोडफोडसमेत गरेका थिए ।

सो घट्नालगत्तै युवा संघले प्रसाईंका सबै कार्यक्रम विथोल्ने भनेर सार्वजनिक रुपमै विज्ञप्ती जारी गरेको छ । दसैंको मुखमा प्रसाईंले एमाले नेतृत्व ओलीमाथि कम्बोडियामा झण्डै तीस अर्ब बराबरको टेलिकममा लगानी रहेको आरोप लगाए । उनले ओलीले कम्बोडियामा गरेको लगानीबारे आफूसँग प्रमाण रहेको नै दाबी गरेका छन् । अहिले सामाजिक सञ्जालमा प्रसाईंले ओलीबारे बोलेको ती भिडिओ क्लिपहरु छरपष्ट छन् ।

ओलीविरुद्ध लगाईएको आरोपबारे एमाले नेतृत्व पँक्तिले पनि मुख खोल्न थालेका छन् । एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत लेखेका थिए–‘पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरु कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्रविरुद्ध गम्भीर बनौं।’

ओलीले गत शुक्रबार सिंहदरबारमा भएको प्रधानमन्त्री दाहालसँगको भेटमा प्रसाईंको उक्त अभिव्यक्तिबारे ध्यानाकार्षण गराएका थिए । उनले प्रसाईंलाई तत्काल नियन्त्रणमा लिन आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले पनि अराजकताले सिमा नाघेको भन्दै त्यस्ता व्यक्ति र उनीहरुका गतिविधिलाई सरकारले नियन्त्रणमा लिने आश्वासन दिएका छन् । प्रसाईं भने यतिवेला कामविशेषले भारतमा रहेको बताईएको छ ।

    सम्बन्धित समाचार...