१६ बैशाख २०८१, आईतवार

संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघ सहयोग गर्न तयार छ: गुटेरेस

Pm Prachanda And Antonoyo Guteres Joint press Meet 7 1 768x502 1

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गटेरेसले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको जनाएका छन् ।

नेपाल भ्रमणमा रहेका महासचिव गटेरेसले आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

महासचिव गुटेरेस शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुग्नुपर्ने उल्लेख गर्दै भने, ‘संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ । संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार छ।’

उनले नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउन आफू काठमाडौं आएको पनि बताए । महासचिव गुटेरेसले विगत बीस वर्षमा नेपालको प्रगति अचम्मको रहेको पनि बताए । ‘शान्ति कायम गर्दै गणतन्त्रको स्थापना, दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध नेपाल लागि परेको छ,’ उनले भने, ‘नेपाल आगामी केही वर्षमै अल्पविकसित देशबाट माथि उठ्न तयार भइरहेको छ ।’

उनले नेपाल आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी संकटको आँधीमा पनि फसेको बताउँदै त्यसलाई हल गर्न अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताए । ‘विकसित देशहरूले नेपाल जस्तो राष्ट्रलाई कोभिड–१९ महामारी, मुद्रास्फीति र जलवायु परिवर्तनले निम्त्याएको ठूलो खतरासँग जुध्न मद्दत गर्नुपर्छ,’ उनले भने, ‘यस यात्रामा म जलवायु संकटको भयावह प्रभाव आफैं हेर्न हिमालयको भ्रमण गर्नेछु ।’

    सम्बन्धित समाचार...