१६ बैशाख २०८१, आईतवार

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

chandragrhan

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आज राति १ बजेर १९ मिनेटदेखि २ बजेर ३८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्नेछ ।

पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्ने गर्दछ । आज पृथ्वीको छायाले चन्द्रमाको ६ प्रतिशत भाग ढाक्ने छ । ग्रहण लागेको बेला बालबालिका, वृद्ध र बिरामीबाहेकले खाना खान र सुत्न नहुने, स्नान ध्यान र मन्त्र पाठ गर्दा फलदायी हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. रामचन्द्र गौतमले जनाए ।

खगोलविद् सुरेश भट्टराईका अनुसार पेनमबलर चन्द्रग्रहण भनिने उक्त ग्रहण १ घण्टा १९ मिनेटसम्म लाग्ने र प्रत्यक्ष आँखाले हेर्न सकिनेछ ।

केही खगोलविद्हरुले आज राति उदयपुरको भागलपुर, विराटनगरको चिल्ड्रेनपार्क र पोखराको भद्रकालीबाट चन्द्रग्रहण हेर्ने तयारी गरेका छन् ।

राति २:३८ बजे ग्रहणको मोक्ष हुनेछ । समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग) अनुसार यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै ग्रहण हो ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमासअनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

    सम्बन्धित समाचार...