२० बैशाख २०८१, बिहीबार

सन्दीप लामिछाने टिममा फर्किए, टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

NEP vs MON
फाइल फोटो

नेपालले आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया छनोटका लागि टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक मोन्टी देशाईले आज १५ खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।

हिजो (शुक्रबार) सम्पन्न त्रिकोणात्मक सिरिजमा रहेका सूर्य तामाङ, लोकेश बम, श्याम ढकाल र सागर ढकाल बाहिरिएका छन् । सन्दीप लामिछाने भने टिममा फर्किएका छन् ।

विश्वकप तयारीका लागि आयोजना गरिएको नेपाल, यूएई र हङकङ सम्मिलत सिरिजमा सन्दीपले नाम फिर्ता लिएका थिए । रोहित पौडेलको कप्तानीमा रहेको टिममा कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी र अविनाश बोहोरा छन् ।

यस्तै प्रतिश जीसी, विवेक यादव, ललित राजवंशी र विनोद भण्डारीले पनि स्थान बनाए । विश्वकप छनोट आगामी सोमबार (कात्तिक १३ गते) बाट घरेलु मैदानमा सुरु हुँदै छ ।

नेपाल रहेको समूह एमा सिंगापुर, ओमान र मलेसिया छन् । समूह एका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

समूह बीमा यूएई, बहराइन, कुबेत र हङकङ छन् । समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । नेपालले पहिलो खेल सोमबार त्रिवि मैदानमा सिंगापुरसँग खेल्नेछ । फाइनल कात्तिक २० गते हुनेछ । फाइनल पुग्ने अन्तिम दुई टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि छनोट हुनेछन् । नेपालले सन् २०१४ मा टी-ट्वान्टी विश्वकपमा डेब्यु गरेको थियो । त्यसयता भने छनोट हुन सकेको छैन । योपटक नेपाल उपाधिको प्रमुख दाबेदार हो ।

ICC Mens T2o World Cup Final Asia 768x768 1

    सम्बन्धित समाचार...