२३ बैशाख २०८१, आईतवार

कस्तो छ फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’ ?

bhasme

सात बर्ष अघि निर्देशक दिपेन्द्र के खनालले पशुपति प्रसाद निर्देशन गरेका थिए । त्यस बेला देखि नै यो फिल्मले दर्शकहरूमाझ निकै कौतूहलता निर्माण गर्न सफल भएको थियो । उनै निर्देशक खनालले सात बर्षपछि सिक्वेलका रुपमा पशुपति प्रसाद २ भष्मे डन लिएर आएका छन् ।

‘भष्मे डन’ले दशैं बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको छ । शनिबार देशब्यापी रिलिज भएको फिल्मका शोज खचाखच छन् । दोस्रो दिन आइतबार पनि फिल्म घरेलु बक्स अफिसको शीर्षस्थानमा छ । देशभर शतप्रतिशत अकुपेन्सी कायम गरेको फिल्मलाई झन्डै साढे २ करोड बराबरको ओपनिङ मिलेको छ । निर्माण कम्पनी टुकी आर्ट्सले सार्वजनिक गरेको एक पोस्टरमा पहिलो दिने कमाई २ करोड ४० लाख उल्लेख छ ।

फिल्म हेरेका प्रायः दर्शकले निर्देशक र निर्मातासँग ‘पशुपति प्रसाद ३’को डिमाण्ड गरेका छन् । यो फिल्ममा समाजको नाटकीय शैलीमा एउटा सुशासनको प्रत्याभूत गर्न नसकेको कुरा उठाउन खोजिएको छ । हरेक मान्छेमा समस्या मात्रै होइनन् प्रणालीबाट हैरान भएको कुरा समेत प्रस्तुत गर्न खोजिएको छ । जुन माहौल बनाएर हलसम्म दर्शक तान्न निर्माण टिम सफल भयो, त्यसरी नै हलसम्म पुगेका दर्शकलाई सन्तुष्ट बनाउन सफल देखिएको छ ।

विश्वभर विपत् जस्तो महामारी रुपमा फैलिएको कोरोना प्रकोपबाट धेरै देशहरु आक्रान्त भएका थिए । यसको चपेटामा समेत नेपाल परेको थियो । यस अघि प्राकृतिक विपत भुकम्प जसबाट त नेपालमा धेरैेले जनधनको क्षति बेहोर्नु परेको थियो । कतिले ज्यान गुमाए त कतिले धन । यस्ता प्रकोप र महामारीबाट धेरै नै मानिसहरु फलिफाप भएका थिए ।

यस्तै अवस्थाबाट सिर्जना भएको फिल्म हो पशुपति प्रसाद २ भष्मे डन । फिल्म पशुपति प्रसाद २ भष्मे डनको पात्र भष्मे डनलाई सम्पन्नशाली बनाएको छ । जसलाई कोरोनाले लखपति बनाएको देखाइन्छ । पशुपतिप्रसादमा ’भष्मे डन’को चरित्र सम्झँदै उत्साहित भएर हल पुगेका दर्शक उनीबाट निकै सन्तुष्ट लिइरहेका छन् ।

फिल्म पशुपति प्रसादमा भष्मेको थोरै पृष्ठभुमि थियो । पहिलो फिल्ममा पशुपतिप्रसादको दुखद अन्त्यसँगै अहिले भष्मेमा आएको परिर्वतनबाट दर्शक मज्जा लिइरहेका छन् । यहाँ मुगुमा जन्मिएको, बाउ आमाले संस्थालाई जिम्मा लगाएर पठाएको र संस्थाले पढाउन त बोर्डिङ मै पढायो तर जेलमा जस्तै राखिदिएको भनिन्छ । संस्थामा बस्दा कतिपय साथीलाई विदेशी खैरेले लगेको भनिन्छ, यता, भष्मे भने मासुभात खाएर भाग्ने तयारीमा थियो । त्यहि समयमा भुइँचालो आयो, र उ जिउँदै आर्यघाटमा पुग्यो र बाँचेको देखाइन्छ । फिल्मको कथा पनि यहि पृष्ठभुमिबाट अगाडी बढेको छ ।

दर्शकलाई सिक्वेलमा सन्तुष्ट बनाउन सात बर्षमा भष्मेको चरित्रमा केही कुराहरुको परिवर्तन आएको छ । पशुपति प्रसाद खकुरेलको मितबा अब उसका बा भएका छन् । क्याण्डी क्रस खेल्ने भष्मे अब पब्जी खेल्न सुरु गरेको छ । बितेका यी सात बर्षमा भष्मेमा आएको गज्जबको परिवर्तन देख्न सकिन्छ । सँगै कालीप्रसाद नागाको चरित्रमा सौगात मल्ल र मैनाको चरित्रमा स्वस्तिमा खड्का थपिएका छन् ।

भष्मेको दाँत सुनको बनेका छन् । अब उसलाई लावारिस भन्ने शब्दका कारण रिस उठन थालेको छ । उसलाई अब जसरी हुन्छ बाबुआमा भेट्नुछ । नागरिकता बनाउनुछ र आफै ठेक्कापट्टाको काम गर्नु छ ।

पशुपति प्रसादलाई देखिनसक्ने त्यहि भष्मे डन अहिले भुवन बहादुरको नाममा नागरिकता बनाउन दौडधुप गरिरहेको देखाइन्छ । आफ्नो चरित्रमा विपिनले सक्दो मिहिनेत गरेका छन् । पहिलो हाफमा उनका केही संवादहरुले दर्शकलाई हसाउँछ ।
पशुपति प्रसादको निधन भएको सात बर्षपछि उसँग पंगा लिन आउने कालीप्रसाद उर्फ नागा (सौगात मल्ल) ।

नकारात्मक पात्रबाट असल पात्रमा परिवर्तन भएका भष्मेको चरित्रमा ‘व्रत बसेको छु नत्र’ भन्ने डायलगले दर्शकदिर्घाबाट तालीको वााही लिन सफल छन् ।

कालीप्रसाद उर्फ नागा (सौगात मल्ल) को अभिनय मौलिक छ । सौगात मल्लले मधेशीको चरित्रलाई आफ्नो पक्षबाट न्याय गरेका छन् । उनको लवाई अनि बोलाईले उनी गैर मधेशी हुन् है भन्ने छनक समेत दिएको छैन । नागा रुँदा दर्शक सँगै रुन्छन्, हाँस्दा सँगै हाँस्छन् ।

फिल्ममा एक दृष्य छ, जहाँ संवादमै भनिएको हुन्छ, छ्या ! कस्तो रुने पनि हाँस्ने पनि एकै पटक भयो । फिल्म पनि यहि संवाद जस्तै बनेको छ, कतै रुवाउने र फेरि रुवाउँदा रुवाउँदै हँसाउने ।

मुखुण्डोधारी माता बनेकी स्वस्तिमाले चरित्रमा घुस्न सक्दो प्रयास गरेकी छिन् । आशीर्वाद दिँदा उनले भन्ने ‘ह्या’ शब्दले दर्शकको ध्यान तान्छ ।

तर केहि प्रश्नको उत्तर भने अपुरो छ । देशमा भएको अस्पतालहरुको मनोमानी बिरुद्धको रिस पोख्न भष्मेसँग ठोकिएको पात्र आखिर किन होला ? एक सामान्य महिला मैना (स्वस्तिमा खड्का), माताजी बन्नुपर्दाको कथा के होला ? के घटनाले भष्मेलाई पशुपति प्रसादप्रति माया पलायो ? पशुपति प्रसादको मितबा कसरी भष्मेको बा हुनपुगे ? पशुपति प्रसाद फिल्ममा भष्मे किन हनुमानसँग डराउँथ्यो ? भष्मेले बोकेर हिँडेको स्पीकर किन कहिल्यै बजेन र पछि त्यो एकाएक कता हरायो ? केही अर्थ नभइ त पक्कै पनि त्यो स्पीकर गलामा झुण्डिएन होला नि । ती अबस्था र कुरा थाहा पाउन फिल्म हेर्नुपर्ने हुन्छ । समग्रमा फिल्म सुन्दर बनेको छ । पशुपति प्रसादमा जत्तिको इमोसन महशुस गर्न नसकेपछि फिल्मले तपाईँलाई निराश भने बनाउने छैन ।

    सम्बन्धित समाचार...