२० बैशाख २०८१, बिहीबार

विश्वकप छनोट फूटबल : लाओसविरुद्ध नेपालको बराबरी गोल

nepal vs laos 2

फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र लाओसबीचको खेल १-१ को बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा १ गोलले पछि परेको नेपालले दोस्रो हाफको ५०औं मिनेटमा गोल फर्काएको छ । पहिलो हाफको सुरुआतबाटै दबाब बनाएको नेपाल पासिङमा भने चुकेको थियो । लाओसले संगठित डिफेन्स गरेपछि नेपाली फरवार्डले गोल गर्न सकेनन् । नेपालले बनाएको अवसरहरु निरन्तर खेर गएका थिए । बरु पोस्टअघि अनमार्क रहेका थानोउ होङले निकै प्रभावशाली प्रहार गरेका थिए । तर उनको प्रहार गोलकिपर किरण चेम्जोङले बचाएका थिए । त्यसअघि नेपालले नेपालले प्रयास गरेका लामा पासहरु सफल हुन सकेनन् ।

लाओसले नेपालको डिफेन्सलाई छक्याउँदै ३३औं मिनेटमा गोल गर्‍यो । उनलाई मार्क गरिरहेका अनन्त तामाङ र रोहित चन्दले उनको मुभलाई जज गर्न चुकेपछि कप्तान बोउनफछन बोउनकोङले गोल गरे । उनको प्रहार पहिलो बारमा लागेर पोस्टभित्र छिरेको थियो ।

आयुष घलानले मनीषलाई दिएको पास खोसेर लाओसले गोल गरेको थियो । खेलको सुरुआतबाटै मिस पास खेलेको नेपालको लागि त्यो गल्ती नै गोलको कारण बन्यो ।

खेलको ३६औं मिनेटमा पनि अन्जनले पोस्टअघि रहेका जिलेस्पी र आयुषलाई पास दिन नसक्दा नेपालले गोलको अवसर गुमाएको थियो । नेपाली टिममा रहेका युवा विंगर आयुष दायाँबाट उत्कृष्ट क्रस गर्ने गर्छन् । तर उनले आजको खेलमा क्रस गर्न सकेनन् । उनी पूरा समय मार्कमा रहे । यससँगै पहिलो हाफमा नेपाल १-० शून्यले पछि थियो ।

दोस्रो हाफको ५०औं मिनेटमा नेपालले गोल फर्काएको हो । एरिक विष्टले प्रहार गरेको कर्नर बलमा अन्जनले हेडरमार्फत गोल गरेका थिए ।

    सम्बन्धित समाचार...