२० बैशाख २०८१, बिहीबार

फिफा विश्वकप छनोटमा नेपालले आज लाओससँग खेल्दै

ne

फिफा विश्वकप-२०२६ को पहिलो चरणमा नेपालले आज लाओसविरुद्ध खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ ।

मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले बुधबार दुई नयाँ खेलाडी अमृत श्रेष्ठ र सन्जीव विष्टलाई समेट्दै प्रतियोगिताका लागि टोली घोषणा गरेका थिए ।

लाओसविरुद्धको खेलका लागि विदेशमा खेलिरहेका रोहित चन्द, किरण चेम्जोङ र मनिष डाँगी पनि नेपाल आइपुगेका छन् । राष्ट्रिय टिमबाट १२ गोल गरिसकेका अन्जन कीर्तिमानको नजिक छन् । एक गोल गरे उनले हरि खड्का र निराजन रायमाझीको नाममा रहेको सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गर्नेछन् । भिन्चेन्सोको राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा यो पहिलो विश्वकप छनोट खेल हो । आठ वर्षपछि घरेलु मैदानमा विश्वकप छनोट खेल्न लागेको नेपालले आक्रामक रणनीति अपनाउने बताएको छ ।

नेपालले पछिल्लो पटक सन् २०१५ मा भारतविरुद्ध विश्वकप छनोट खेलेको थियो । सन् २०२२ को विश्वकप छनोट दोस्रो चरणअन्तर्गत घरेलु मैदानमा खेल कोभिड-१९ कारण न्युट्रल भेन्युमा भएका थिए ।

लाओस तीन साताको तयारीपछि नेपाल आएको छ । गत चैतमा भएको ट्राइ नेसन्स कपमा नेपालले दुई पटक लाओसमाथि जित हात पारेको थियो । ट्राइ नेसन्स खेलेका १३ खेलाडी अहिले लाओसको टिममा छन् । ओसविरुद्धको अवे खेल अर्को साता उसकै मैदानमा हुनेछ । लाओसमाथि जित हात पारे नेपाल समूह ‘एच’ मा पुग्नेछ ।

    सम्बन्धित समाचार...