१६ बैशाख २०८१, आईतवार

राजमार्गमा बाँदर अत्याधिक देखिएपछि दुर्घटनाको जोखिम बढयाे

newskarkahna news583823

तराईको पूर्व-पश्चिम राजमार्गमा बाँदरको कारण दुर्घटनाको खतरा बढेको छ ।

सामुदायिक बन, साझेदारी बन र सागरनाथ बन परियोजनामा रहेका बाँदरहरू सडकभरि उत्रँदा दुर्घटनाको खतरा बढेको हो ।

खाना खोज्दै राजमार्गमा निस्किएका सयौँ बाँदरहरू यात्रुहरूले खाना दिने आशामा निस्किएका हुन्छन् । तीव्र गतिमा गुडिरहेका कतिपय सवारी साधनले किचेर मारेका धेरै बाँदरहरूको लास सडकमा अलपत्र देखिन थालेको छ । विशेष गरी महोत्तरीको बर्दिबास देखि सर्लाहीको लालबन्दी जाने सडकको बिचका विभिन्न ठाउँमा बाँदरहरूले सडक नै जाम गर्ने गरेका छन् ।

यो बिचमा सागरनाथ बन परियोजना देखी सामुदायिक बन र साझेदारी बन रहेका छन्, त्यहाँ रहने बाँदरले खानाको खोजीमा राजमार्गमा निस्के पछि हैरानी बढेको छ। माइस्थान सामुदायिक बन, टुटेस्वर साझेदारी बन, बाँके मरहा साझेदारी बन, फुलजोर साझेदारी बनहरू यही राजमार्गमा जोडिएका कारण हैरानी बढेको स्थानीय रामप्रसाद सापकोटाले जानकारी दिए ।

डिभिजन वन कार्यालय महोत्तरीका अधिकृत भिमबिक्रम खडका यात्रुहरूको कारणले पनि बाँदरहरू सडकमा आउने गरेको बताउँछन् । ` यात्रुहरूले खाना सडकको छेउमा फ्याँक्ने गर्छन् र सोही खाना खानका लागी सडकमा उनीहरू आउने गर्दछन्,´ उनले भने । पछिल्लो समय वन अतिक्रमण, फडानी र तस्करीका कारण जंगलका बाँदरहरू बस्ती पस्न लागेको बनका कर्मचारीहरूको भनाई छ ।

यही अवस्था रहने हो भने सवारी दुर्घटना अधिक हुने जिल्ला ट्राफिक कार्यालयको समेत निष्कर्ष छ । जिल्ला ट्राफिक कार्यालय महोत्तरीका सूचना अधिकारी दीपेश रायका अनुसार पछिल्लो १ महिना भित्र यही राजमार्गमा ३ जनाको मृत्यु भएको छ भने ५२ वटा भन्दा बढी दुर्घटना भएका छन् ।

राजमार्गमा निस्केर सडक जाम गर्ने बाँदरहरूको विषयमा नसोच्ने हो भने मुख्य दुर्घटनाको कारक यही बन्ने यात्रुहरूले सरोकारवालाहरूलाई ध्यानाकर्षण गराएका छन् ।

    सम्बन्धित समाचार...