१९ बैशाख २०८१, बुधबार

बालेन शाह हिटलरको नयाँ अवतार : महेश बस्नेत

Mahesh balen
फाइल फोटो

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह हिटलरको नयाँ अवतार भएको आरोप लगाएका छन् ।

‘बालेन शाह विद्रोही जनमतका प्रतिनिधिका रुपमा सवा वर्षदेखि काठमाडौंमा शासन गरिरहेका छन् । चुनावपछि जनताका धेरै आशा र अपेक्षा थिए । तर बिदाको दिन सरकारी सवारी साधन सहमति नलिईकन चलाएकोमा ट्राफिक प्रहरीले रोक्दा सरकारलाई चोर र सिंहदरबार जलाइदिन्छु भनेर धम्की दिए । द्वन्द्वकालमा प्रचण्ड र शाहीकालमा ज्ञानेन्द्रको जस्तो व्यवहार गरे । उनले नयाँ जेलेन्स्की र हिटलरको बीउ रोपिरहेका छन्,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’सँग उनले भने ।

बालेन शाहको अराजकता र उत्तेजनालाई मलजल गर्नु नहुने बस्नेतले औंल्याए । उनले भने, ‘बालेन शाह राज्य, कानुन, मित्रराष्ट्रविरुद्ध खनिएका छन् । उनका समर्थकहरु केही अनलाइन पोर्टल र पेज दुरुपयोग गरेर अराजक र आपराधि कुरालाई प्रोत्साहन गरिरहेका छन् । सल्लाह, सुझाव दिनेविरुद्ध श्रद्धाञ्जलि दिएर गालीगलौज गरिरहेका छन् । बालेनले संयमित भएकै राम्रो । ट्राफिक प्रहरीले कागजात नै हेर्न नहुने ? बालेनकी श्रीमती महारानी हुन् र ? आरजुको दोसो संस्करण हुन् र ? ट्राफिकले एकछिन रोक्दा सन्केर, रिसाएर खान हुने नहुने कुरा खाएर स्टाटस लेख्ने ?’ आम जनतामा बालेन शाह र भीम उपाध्यायले गाँजा खाएर सामाजिक सञ्जालमा उट्पट्याङ लेखिरहेको आरोप पनि उनले लगाए ।

एमाले नेता बस्नेतले बालेन शाहले ध्वंसबाहेक केही नजानेको टिप्पणी पनि गरे । उनले थपे, ‘आजसम्म बालेनले ध्वंशका काम मात्र गरेका छन्, ‘उनले निर्माणका काम गरेका छैनन्, ध्वंसबाहेक केही जानेका छैनन् । आफ्नो पालिकामा मात्र नभएर छिमेकी पालिकामा पनि डोजर आतंक चलाएका छन् । महानगरको २६ अर्ब बजेट खर्च गर्न सकेका छैनन् । स्मार्ट ट्वाइलेटका कुरा अलपत्र परेका छन् । बालेनबाट व्यापारी र उपभोक्ता लखेटिएका छन् । केही सडकमा बत्ती र गमलामा राखेर रंग लगाउँदैमा विकास हुन्छ र ?’

साम्राज्यवादी शक्तिको पक्षपोषणमा नयाँ राजा, शासक खोज्ने प्रवृत्ति घातक रहेको उनको धारणा छ । आगामी निर्वाचनमा बालेन शाह र हर्क साम्पाङको जमानत जफत हुने दाबी पनि बस्नेतले गरे ।

प्रधानमन्त्री प्रचण्ड मित्रराष्ट्रको गोडामा तेल लिएर घस्ने र साम्राज्यवादी शक्तिसँग आत्मसमर्पण गरेर सत्तामा टिक्न खोजिरहेको आरोप पनि बस्नेतले लषए । उनले भने, ‘प्रचण्डले भारत भ्रमणमा जाँदा गे्रटर इन्डियाको नक्साबारे चुँ बोलेनन् । त्यही कारण बालेनले पब्लिक सेन्टिमेन्ट क्यास गरे । प्रचण्ड आधुनिक युगका रावण हुन् । उनका दसवटा टाउको रहेसम्म मुलुकमा आतंक र अराजकता रहिरहन्छ । उनलाई सत्ताबाट पदच्युत गरेर कांग्रेस र एमालेको नेचुरल सरकार बनानाउनुपर्छ ।’ साथै चुच्चे नक्सा पास गर्नासाथ केपी ओलीको सरकार ढलेकाले छिमेकी देशलाई कूटनीतिक नोट पठाउन नभ्याएको उनको जिकिर छ ।

    सम्बन्धित समाचार...