२० बैशाख २०८१, बिहीबार

नेपाल सेमिफाइननलमा प्रवेश

Nepali Women Cricket Team

आईसीसी महिला टी–ट्वान्टी एसिया छनोटमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

मलेसियाको बांगीस्थित यूकेएम–वाइएसडी क्रिकेट ओभलमा आज बिहान भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

कतारले दिएको ७५ रनको लक्ष्य पछ्याएको नेपालले १० ओभर ३ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालकी ओपनर ब्याटर काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन् । २८ बलको सामना गरेकी उनले ४ चौका प्रहार गरिन् । सीता राना मगर १७ र इन्दु बर्मा २० रनमा अविजित रहे । इन्दुले ३ चौका प्रहार गरिन् । कतारका लागि सबिजा अदिएरी पानायनले १ विकेट लिइन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रनको सामान्य स्कोर बनाएको थियो । कतारका लागि साची डादवालले सर्वाधिक २१ रन बनाइन् भने ओपनर एलिना खानले १५ तथा कप्तान आयशाले १० रन जोडिन् । एन्जेलाइन मरे १४ रनमा अविजित रहिन् ।

नेपालका लागि किफायती बलिङ गरेकी इन्दुले ३ विकेट लिइन् । पूजा महतो र कविता जोशीले समान एक/एक विकेट लिए ।

लगातार चौथो जितसहित नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

नेपालले यसअघिको खेलमा मलेसियाविरुद्ध पाँच रनको जित दर्ता गरेको थियो। त्यसैगरी बहराइसँग १० विकेट र भुटानलाई तीन विकेटले हराएको थियो ।

कतारको भने सेमिफाइनल सम्भावना समाप्त भइसकेको छ। उसले यसअघि बहराइन, भुटान र यूएईसँग हार बेहोरेको थियो। नेपालले यसअघिको खेलमा कतारलाई ठूलो अन्तरले हराउँदै आएको छ।

नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ ।

    सम्बन्धित समाचार...