२० बैशाख २०८१, बिहीबार

भुटानविरुद्ध नेपालको ३ विकेटले जित

Nepali Women Cricket Team

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो ।

मलेसियाको बांगीमा नेपालले टस जितर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनायो।

भुटानकी कप्तान डेचेन वांग्मोले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

तीव्र गतिकी बलर कविता कुँवरले पहिलो बलमै ओपनर न्गवागं चोडेनलाई शून्य रनमा बोल्ड आउट गरेकी थिइन् । अर्की ओपनर कर्मा डेमा १ रन बनाउँदै स्पिनर खुशी डंगोलको बलमा आउट भइन् । नेपालकी तीव्र गतिकी बलर पूजा महतोले ३ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन् । कप्तान रुबिना क्षेत्री बेलबासे, खुशी डंगोल र कविता कुँवरले १ विकेट लिइन् ।

जवाफमा ४० रनको सामान्य लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । सीता राना मगर ८, कविता जोशी ९ र पूजा महतो ३ रनमा आउट हुदाँ कप्तान रुबिना क्षेत्रीले १२ रनको अविजित इनिङ्स खेलिन् । रुबिना बाहेक नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका ३ ब्याटर शून्य रनमा आउट भए । भुटानका लागि अन्जुली घल्लीले ३ तथा छिरिङ जाङ्माले २ विकेट लिए ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले अर्को खेलमा भोलि बहराइन र बुधबार यूएईसँग खेल्ने छ ।

    सम्बन्धित समाचार...