२६ बैशाख २०८१, बुधबार

भारतको अरुणाचल प्रदेश आफ्नो भूमिमा समेटिएको नक्शा चीनले गर्यो सार्वजनिक

china new map

चीनले भारतको समग्र अरुणाचल प्रदेश र अक्साई क्षेत्रलाई आफ्नो भूभागभित्र निरन्तरता दिँदै आधिकारिक नक्साको ताजा संस्करण सार्वजनिक गरेको छ ।

प्राकृतिक स्रोत मन्त्रालयले हिजो सार्वजनिक गरेको चिनियाँ आधिकारिक नक्साको २०२३ को संस्करणमा पुराना संस्करणमा झैँ साउथ चाइना सीको ९० प्रतिशत क्षेत्रलाई उसले आफूभित्र समेटेको छ । नाइन ड्यास लाइन भनिने यू आकारको रेखाले साउथ चाइना सीको ९० प्रतिशत जति भूभागलाई चीनभित्र पारेको हो । सन् १९४० देखि नै चीनले आफ्नो नक्सामा यस्तो रेखाको प्रयोग गर्दै आएको हो ।

दक्षिणपूर्वी देशहरू चीन, भियतनाम, फिलिपिन्स, ब्रुनाई, मलेसिया र ताइवानबीच साउथ चाइना सीको क्षेत्रलाई लिएर विवाद रहँदै आएको छ । खासगरी साउथ चाइना सीमा रहेका दुई महत्त्वपूर्ण टापु स्पार्टली आइल्याण्ड र पार्सेल आइल्याण्डमाथिको स्वामित्वको विषय झगडाको मूल केन्द्रका रूपमा रहँदै आएका छन् । साउथ चाइना सीमाथिको चीनको दाबीलाई अमेरिका, अष्ट्रेलियालगायतका देशले पनि अस्वीकार गर्दै आएका छन् ।

चीनले आफ्नो नक्सामा टेन्थ ड्यास लाइनको प्रयोग गर्दै ताइवानलाई पनि आफ्नो सीमा क्षेत्रभित्र समेटेको छ । ताइवानले आफूलाई स्वतन्त्र राज्य मान्दै आएको छ भने चीनले उसलाई आफूबाट छुटि्टएको प्रान्तका रूपमा हेर्दछ । उसले एकदिन सो क्षेत्रलाई आफूभित्र गाभेरै छाडने दृढता व्यक्त गर्दै आएको छ ।

यता अरुणाचल र अक्साई चीन क्षेत्रलाई लिएर भारतसँग चीनको पुरानो विवाद रहंदै आएको छ । अरुणाचल प्रदेशलाई चीनले दक्षिणी तिब्बत भएको दाबी गर्दै आएको छ भने भारतसँग १९६२ को युद्धमा कब्जा गरेको अक्साई चीन क्षेत्रलाई पनि आफ्नै भूभाग भएको दाबी गर्दै आएको छ । यही अप्रिलमा चीनले अरुणाचल प्रदेशभित्र पर्ने ११ वटा भारतीय स्थानलाई चिनियाँ नाम दिएपछि दुवै देशबीच तनाव बढेको थियो ।

२०२० मा पुर्वी लद्दाखको गलवान क्षेत्रमा दुवै पक्षका सेनाबीच झडप हुँदा २० जना भारतीय सैनिक मारिएका थिए भने चीनतर्फ चार सैनिक मारिएका थिए । त्यसयता सीमा क्षेत्रमा दुवै देशका सेनाबीच तनाव रह‌ँदै आएको छ ।

    सम्बन्धित समाचार...