१७ बैशाख २०८१, सोमबार

एमसीसीको व्याख्यात्मक घोषणा कार्यान्वयनमा नगए सडकबाट आन्दोलन : प्रधानमन्त्री

prachanda

प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी सहायता परियोजना (एमसीसी) को व्याख्यात्मक घोषणा नै कार्यान्वयनमा लैजाने आश्वासन दिएका छन् ।

बुटवलमा मंगलबार आयोजित समाजवादी मोर्चाको सन्देशसभामा उनले १२ बुँदे व्याख्यात्मक घोषणा नेपालको संसद्‌बाट पारित भएकाले त्यसैलाई कार्यान्वयन गर्ने कुराबाट सरकार पछि नहट्ने धारणा राखे । दाहालले नेपालको संसद्‌ले पारित गरेअनुसार कार्यान्वयन नभए सडक आन्दोलन गर्ने जनाउ दिए । ‘नेपालको सदनबाट पास गर्दा गरिएको १२ बुँदे घोषणालाई सम्झौताको मूल अंश नबनाइए हाम्रा लागि सडकमा उत्रिने बाटो खुलै रहेको छ,’ उनले भने ।

उनले मंगलबारै नेपाल आइपुग्ने अमेरिकी अधिकारीसँग १२ बुँदे घोषणा कार्यान्वयनबारे पुन सोध्ने पनि जनाए । ‘एमसीसीबारे अझै पनि धेरै चासो छ । केही साथीहरुको विरोधमा पनि स्वर सुनिएको छ । हामी अझै एमसीसीविरुद्ध सडकमा जाने अवस्था छ । १२ बुँदे व्याख्यात्मक घोषणाका कारण सडकमा जान सक्छौं,’ उनले भने, ‘एमसीसी कार्यान्वयनबारे छलफलका लागि एकजना अधिकारी नेपाल आउँदै छन् । हाम्रो घोषणालाई सम्झौताको पाठ बनाउने हो कि होइन भनेर म उनलाई पनि सोध्छु ।’

प्रधानमन्त्रीले एमसीसी सम्झौतामा मोर्चाका दलहरु पनि भएको बताउदै १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंश नबनाइए समाजवादी मोर्चामा सल्लाह गरेर सडकमा उत्रिने विचार व्यक्त गरे । ‘यदि १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको मूल अंश नभए त्यसपछि के गर्नुपर्छ ? के हुन्छ ? भन्ने मोर्चामा सल्लाह गर्छु,’ उनले भने, ‘आन्दोलनमै जान पनि तयार हुनुपर्छ । म तयार छु ।’

प्रधानमन्त्री दाहालले अहिले देशमा केही हुँदैन भनेर परिवर्तनका बाधकहरुले निराशा बनाउन खोजेको जनाउँदै हल्ला भएअनुसार देशमा निराशा नरहेको दाबी गरे । उनले देश बर्बाद भयो भनेर परिवर्तनविरोधी शक्तिले हौवा पिटे पनि देश बर्बाद नहुने ठोकुवा गरे । परिवर्तन हुने बेलामा केही कठिनाइ देखिए पनि यसको सफल अवतरण हुने उनको भनाइ छ । उनले प्रधानमन्त्री र माओवादीलाई अपराधीका रूपमा चित्रण गरेर दलाल पुँजीपतीहरुले आफ्नो स्वार्थपूर्ति गर्न लागेको भन्दै त्यस्तो स्वार्थ कदापि पूरा गर्न नदिने जनाए । ‘के माओवादी अपराधी हुन् ? के आफ्नो अधिकारका लागि लड्ने नागरिक आन्दोलनकारी हुन् ? होइन त्यसैले त्यस्तो कसैको स्वार्थ पूरा हुन दिने छैनौं,’ उनले प्रश्न गरे ।

नेपालको राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको पक्षमा लडिरहेको उनको भनाइ छ । उनले भने, ‘हिजो जनयुद्धमा थिएँ तर अहिले लडाइँको रुप फेरिएको छ अझै म मैदानमै छु ।’ दाहालले आफू संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन चीन जाने त्यहाँ पनि आफूले नेपालको राष्ट्रिय हित र पक्षमा केही नयाँ निर्णय गराउने प्रतिबद्धता जनाए ।

उनले जनयुद्ध र जनआन्दोलनका मुख्य शक्ति आफूहरु सँगै भएको जनाउँदै समाजवादी मोर्चाको भविष्य रहेको दाबी गरे । सरकारमा बस्न कुनै शक्तिसँग अनुचित सम्झौता नगर्ने जनाउँदै उनले आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न कि भन्ने लागे पनि सबैको साथले अहिलेसम्म टिकिराखेको जानकारी दिए । ‘प्रतिपक्षी साथीले संसद्‌मा अनेक गर्नुभएको छ, तर पनि चिज अगाडि बढेकै छ, बढ्छ,’ दाहालले भने ।

दाहालले परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध समाजवादी मोर्चा बनेको दाबी गरे । उनले अहिले प्रतिक्रियावादी शक्तिहरु जातीय द्वन्द्व निम्त्याएर परिवर्तन उल्ट्याउने प्रयत्नमा लागेको पनि जनाए । जनयुद्ध र जनआन्दोलनका मुख्य शक्तिहरु अहिलेको मोर्चामा रहेको दाहालले जनाए । ‘यो मोर्चाभन्दा बाहिर रहेका शक्तिहरु नक्कली हुन्, उनले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै भने, ‘पटक-पटक संविधान मिचेर संसद् विघटन गर्ने नेताबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन ।’

केही गिद्धहरु ओर्लँदैछन् : नेत्रविक्रम चन्द

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अमेरिकाले एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने षड्यन्त्र गरिरहेको भन्दै त्यसविरुद्ध आफूहरू लड्ने पनि तयार रहेको प्रतिक्रिया दिएका छन् । मंललबार सोही कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘भोलिका दिनमा यहाँ केही गिद्धहरु ओर्लँदैछन्,’ चन्दले भने, ‘अमेरिका एमसीसीका नाममा सहयोग गर्न आउँछ भने स्वागत छ । ५ अर्ब होइन ५० खर्ब पनि लिन्छौं तर, उपनिवेश बनाउने उद्देश्यका साथ नेपालका नियम कानुन मिच्दै आउँछ भने हामी त्यसको विरोध गर्छौं, लड्न पनि तयार छौं ।’

    सम्बन्धित समाचार...