२० बैशाख २०८१, बिहीबार

प्रिमियर लिग: लिभरपुलको सनसनीपूर्ण जित

liverpool

इंग्लिस प्रिमियर लिगमा आइतबार राति लिभरपुलले न्युकासललाई २–१ गोलअन्तरले हराएको छ। न्युकासलको सेन्ट जेम्स पार्कमा एक गोलले पछि परेको अवस्थाबाट लिभरपुलले लिगमा दोस्रो जित दर्ता गरेको हो।

१० खेलाडीमा समेटिएको लिभरपुललाई जित दिलाउने क्रममा दुवै गोल डार्बिन नुनेजले गरेका थिए।

२५ औं मिनेटमै एन्थोनी गोर्डोनले गोल गरेर न्युकासललाई अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा डच डिफेन्डर अलेक्जेन्डर इजाकलाई मैदानमा लडाएपछि भृगिल भान डाइकलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। त्यसपछि लामो समय लिभरपुल खेलमा फर्कन सकेन। उसले खेल अवधिभरी ३९ प्रतिशत समय मात्र बलमा पकड जमाउन सकेको थियो।

खेलको ८० औं मिनेटसम्म गोल फर्काउन नसकेको लिभरपुलका लागि नुनेजले ८१ औं मिनेटमा बराबरी गोल गरे। ७७ औं मिनेटमा मैदान पसेका नुनेजले दोस्रो गोल भने इन्ज्युरी समयमा गरेका थिए। दोस्रो गोलका लागि मोहम्मद सलाहले पास उपलब्ध गराएका थिए।

प्रिमियर लिगमै गएराति सम्पन्न अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई २–१ गोलअन्तरले हराएको छ। सिटीका लागि अर्लिङ हाल्यान्ड र रोड्रीले समान एक-एक गोल गरेका थिए।

त्यसैगरी, गएराति नै बर्नलीले एस्टन भिल्लासँग ३–१ गोलअन्तरको हार बेहोरेको छ। प्रिमियर लिगमा तेस्रो सप्ताहन्तका खेल सकिएसँगै तीन जितबाट ९ अंक बनाएको म्यानचेस्टर सिटी शीर्षस्थानमा छ। वेस्ट ह्याम दोस्रो र टोटेनहम तेस्रो स्थानमा छ।

    सम्बन्धित समाचार...