२१ बैशाख २०८१, शुक्रबार

प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

manchester 1

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पुनरागमन जित दर्ता गरेको छ । दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेडले १० खेलाडीमा सिमित नटिङ्‌घम फरेस्टलाई ३-२ ले पराजित गरेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडलाई जित दिलाउन क्रिस्टियन एरिक्सन, क्यासेमिरो र ब्रुनो फर्नान्डेसले गोल गरे । फरेस्टमा लागि ताइवो अवोनियी र विली बोलीले १-१ गोल गरे ।

म्यानचेस्टर युनाइटेडले खेल सुरु भएको चार मिनेट भित्र दुई गोल खान पुगेको थियो । खेलको दोस्रो मिनेटम फरेस्टका ताइवो अवोनियीले काउन्टर अट्याकमा गोल गरे । त्यसको दुई मिनेट पश्चात विली बोलीले हेडमार्फत गोल गर्दै फरेस्टलाई २-० को अग्रता दिलाए । तर त्यसपछि युनाइटेडले सानदार पुनरागमन गर्‍यो । खेलको १७ औं मिनेटमा मार्कस रासर्फडको असिस्टमा क्रिस्टियन एरिक्सनले गोल गर्दै टिमलाई खेलमा फर्काए ।

पहिलो हाफमा २-१ ले पछि रहेको युनाइटेडका लागि ५२ औं मिनेटमा क्यासेमिरोले फर्नान्डेसको पासमा सहज गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६७ औं मिनेटमा फरेस्टका जो वोरल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । खेलको ७६ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गरे । फरेस्टका ड्यानिलोले रासर्फडका लागि डी-बक्स भित्र फल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेडले ३-२ को पुनरागमन जित सुनिश्चित गर्‍यो ।

जितपछि युनाइटेड तीन खेलमा दुई जित र एक हारसँगै ६ अंक जोड्दै लिगको छैठौं स्थानमा उक्लिएको छ । समान खेलमा तीन अंक जोडेको फरेस्ट लिगको १४ औं स्थानमा छ ।

यस्तै गएराति सम्पन्न अर्को खेलमा आर्सनलले १० जनामा सिमित फुलहमसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ । वुल्भ्सले एभर्टनविरुद्ध १-० को संघर्षपूर्ण जित दर्ता गर्दा ब्रेन्टर्फड र क्रिस्टल प्यालेसले १-१ गोलको बराबरी खेलेका छन् । टोटेनहमले बर्नमाउथलाई २-० ले हराउँदा वेस्ट हृयामले ब्राइटनविरुद्ध ३-१ को सहज जित हात पारेको छ ।

    सम्बन्धित समाचार...