२३ बैशाख २०८१, आईतवार

क्रसरले उजाडेको नदी किनार, अब मन भुलाउने हरितपार्क

20230816 072431 1 .jpg

वरपर क्रसरले मरुभूमि बनाएका फाँटहरू छन् । कतै माटो तथा बालुवा उत्खनन गर्दा बनेका गहिरा खाल्डा देखिन्छन् त कतै गिटी र बालुवा थुपारेका पहाड भेटिन्छन् ।

बर्षायाममा पनि धुलोको कुइरीमण्डलले यही बाटो भएर बर्दिबासका दक्षिणतर्फ जाने यात्रुहरू मुख छोप्नै पर्न बाध्यता छ । तर यो विरक्त लाग्दो वातावरणीय दुर्दशाको दैनिक आवतजावत गर्ने भुक्तभोगी मात्र हैन, बाहिरबाट आएका व्यक्तिहरू समेत एकैछिन भए पनि यो ठाउँमा आजकाल अडिन लागेका छन् ।

कारण हो रातु मित्र पार्क । रातु नदिको किनारामा लगाइएका सयौँ जातका बिरुवाहरूले अहिले हरियाली छरेका छन् । रोटरी क्लब अफ बर्दिबासले झण्डै ८ बिघा क्षेत्रफलमा हरित पार्क बनाउने उद्देश्यले लगाइएको झण्डै २६ सय भन्दा बढी बिरुवाहरू हुर्केसँगै रातु नदिको तटीय क्षेत्र हराभरा बनेको छ ।

वर्ष दिन अगाडीसम्म बालुवा नै बालुवाका कारण उराठलाग्दो मरुभूमि देखिने यसै ठाउँ हरित सौन्दर्यमा परिणत भएसँगै स्थानीय र यात्रुहरूलाई एकैछिन भए पनि स्वच्छ अक्सिजन लिन सकिने बिश्रामस्थल बनेको स्थानीयहरू बताउँछन् । पूर्व रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष विष्णु खडकाको नेतृत्वमा झण्डै १ करोड २५ लाख लगानीमा निर्माण भएको उक्त हरित पार्कको नतिजा धमाधम देखिन थालेको छ ।

त्यसो त अहिलेका अध्यक्ष कृष्ण गौतमले पनि उक्त मित्र पार्कको सौन्दर्यीकरणमा निक्कै मेहनत गरेका छन् । ड्यामको माथि पट्टिबाट सुन्दर बाटो बनाइएको छ भने घामले बिरुवाहरू नसुकुन् भनेर पानीको व्यवस्था गरिएको अध्यक्ष गौतम बताए । चारैतिर पर्खाल घेरेर बनाइएको उक्त हरितपार्कले आकार लिएसँगै अवलोकन गर्नेहरूको संख्या समेत बढिरहेको छ ।

रातु मित्र पार्क मात्र हैन, रोटरी क्लबले बर्दिबासलाई हरित सहरको रूपमा विकास गर्ने अवधारणा नै अगाडि बढाएको अध्यक्ष गौतम बताउँछन् । अहिलेसम्म झण्डै ५ हजार बिरुवा रोपेको बताउँदै अध्यक्ष गौतमले मुख्य सडकको बिचमा पनि रोटरीले हरितयुक्त सौन्दर्यमा जोड दिएको बताए ।

बर्दिबास चोकको पूर्व-पश्चिम राजमार्गमा देखिने हरियाली रोटरी क्लबको नै देन हो । नदिका किनारहरूमा क्रसर ब्याबसायीहरुका कारण नदी उकास जग्गा समेत अतिक्रमण भइरहेको जनगुनासो बढिरहेको वेला रोटरी क्लबले नदी उकास जग्गालाई हरित पार्क बनाएपछि चर्चा सुरु भएको छ ।

पछिल्लो समय होटल हवको रूपमा विकास भएको बर्दिबासमा आउने आन्तरिक र बाह्य पर्यटकको लागी समेत यो हरितपार्क निक्कै उपयोगी साबित भएको होटल व्यवसायीहरू वताउछन ।

FB IMG 1692718874024.jpg

    सम्बन्धित समाचार...