१७ बैशाख २०८१, सोमबार

महिला विश्वकप : तेस्रो स्थानका लागि आज अष्ट्रेलिया र स्वीडेन भिड्ने

Sweden Australia

फिफा महिला विश्वकपको तेस्रो स्थानका लागि आज अस्ट्रेलिया र स्विडेन प्रतिस्पर्धा गर्दैछन् ।

अष्ट्रलियाको क्विन्सल्याण्डस्थित सनकर्प स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने दुई बजे खेल सुरु हुनेछ ।

स्विडेनको विश्वकप जित्ने सपनालाई स्पेनले समाप्त गरेको थियो भने दोस्रो सेमिफाइनलमा सह-आयोजक अस्ट्रेलिया टाई ब्रेकरमा इंग्ल्यान्डसँग स्तब्ध भएको थियो ।

समूह चरण पार गरेपछि स्पेनसँग सेमिफाइनलको भिडन्त तय गर्न स्विडेनले दुई पूर्व विजेता अमेरिका र जापानलाई नकआउट गरेको थियो । सन् १९९१, २०११ र २०१९ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको स्विडेन चार पटक तेस्रो स्थानको प्लेअफ खेल्ने पहिलो टोली बन्दै छ ।

स्विडेनका प्रशिक्षक पिटर गेर्हार्डसनले स्विडेनलाई तेस्रो स्थान मात्र हासिल गर्न सक्ने टोलीको ट्याग लागे पनि आफ्नो टोलीको चाहना त्यो नभएको तर खेलाडी र प्रशिक्षकको रुपमा आफूले हरेक नतिजालाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।

घरेलु समर्थकमाझ चिरपरिचित प्रतिद्वन्द्वी इंग्ल्यान्डको भेट पक्का गर्न अस्ट्रेलियाले पनि प्रभावशाली सुरुवात गर्‍यो । नटकआउट चरणमा डेनमार्कलाई २–० ले पराजित गर्दा क्वार्टरफाइनलमा फ्रान्ससँग पेनाल्टी सुटआउटमा नाटकीय जित हात पारेको थियो ।

अस्ट्रेलियाका प्रशिक्षक टोनी गुस्टाभसनले घरेलु समर्थकबीच फाइनल पुग्न नसके पनि आफ्नो टिमको प्रदर्शन प्रसंशनीय भएको बताएका छन् । घरेलु मैदानमा पहिलो पटक शीर्ष चारमा पुग्नु आफ्ना लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।

महिला विश्वकपको उपाधिका लागि स्पेन र इंग्ल्यान्डबीच भोलि भिडन्त हुनेछ । फाइनल खेल भोलि अपराह्न पौने चार बजे हुनेछ ।

    सम्बन्धित समाचार...