२२ बैशाख २०८१, शनिबार

चित्रबहादुर केसी भन्छन्- ‘गठबन्धनमा भएको वा नभएको कुनै अनुभव छैन’

chitra badhur kc
फाइल फोटो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले आफ्नो सत्ता जोगाउन जघन्य अपराध गरेका मान्छेलाई राष्ट्रपतिबाट माफी मिनाहा गराउनु झन् ठूलो जघन्य अपराध भएको बताएका छन् ।

‘यसबारे मैले पहिले नै भनिसकेको छु । अदालतको फैसला भरखर आयो । त्यसरी माफी मिनाहा गराउनु संवैधानिक र मानवअधिकारका दृष्टिले उपयुक्त हुँदै हुन्न । नेपालका शासकहरु नैतिकतासँग डराउँदै डराउँदैनन् । उनीहरुलाई सत्ता र सम्पत्तिको मात्र चिन्ता हुन्छ । कवि लेखनाथ पौड्यालले राणा शासनमै मै खाऊँ, मै लाऊँ, सुखसयल वा मोज म गरुँ ‍‍ म बाँचूँ मै नाचूँ अरु सब मरुन् दुर्बलहरु… भनेर लेखेका थिए,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग उनले भने ।

नेता केसीले उच्चस्तरीय न्यायिक छानबिन आयोगको माग गरेर संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा रहँदा विगतमा आयोगले दिएको प्रतिवेदन कति कार्यान्वयन भयो भनेर प्रश्न पनि गरे । उनले थपे, ‘भ्रष्टाचारको फाइल खुल्दै गर्दा आफ्नो फाइल पनि खुल्ला भन्ने त्रासले संसद् अवरोध गरेको हो कि होइन ? २०७२ को संविधान ध्वस्त गर्ने, पटक पटक संसद् विघटन गर्ने र गणतन्त्रलाई खतरामा पार्ने काम गरेको हो कि होइन ?’

आफूले गठबन्धनमा भएको वा नभएको कुनै अनुभव नगरेको पनि केसीले बताए । उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचारका अलिकति फाइल त खोल्नुभएको छ । तर प्रचण्डलाई गम्भीर अप्ठ्यारो छ । उहाँकै पार्टीभित्र भ्रष्टाचारी छन् । उहाँका सहयात्रीहरु नै भ्रष्टाचारी छन् । उहाँकै पार्टीभित्रका मानिसहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको स्थिति छ । आफ्ना केही मानिसलाई जोगाउन खोजे पनि अहिलेसम्म खुलेका फाइललाई सुरुवात सकारात्मक नै मान्नुपर्छ ।’

संघीयताका नाममा नेपाली जनताको रगत र पसिनामा पौडी खेल्ने काम भएको आरोप पनि केसीले लगाए । उनले थपे, ‘संघीयताका नाममा हामीले लडाइँ, झगडा र षडयन्त्रको इपिसेन्टर आठवटा ठाउँमा देख्नुपर् यो । अब प्रदेश खारेज गर्नुपर्छ । प्रदेशको खर्च स्थानीय सरकारलाई दिनुपर्छ ।’

    सम्बन्धित समाचार...