२१ बैशाख २०८१, शुक्रबार

मुगु जीप दुर्घटना, ज्यान गुमाउनेको संख्या ५ पुग्यो

AccudentPyuthan3 20220814190424
फाइल फोटो

मुगुमा भएको जिप दुर्घटनामा परी निधन हुनेको संख्या पाँच पुगेको छ । सोमबार अपराह्न ४ बजे सोरु गाउँपालिका–७ मा ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको निधन भएको थियो । मृतक पाँचमध्ये चार जना हुम्ला जिल्लाका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतकाअनुसार जिप दुर्घटनामा परी निधन हुनेहरुमा सोरु गाउँपालिका–५ मुगुका लोकजन नेपाली, हुम्ला सर्केगार्ड–२ रिप गाउँका एकै नाम थरका दुई जना राम परियार, हुम्ला सिमकोट-२ ठेहेका प्रकाश बोहोरा र हुम्ला खार्पुनाथ-१ प्युसका मिनबहादुर परियार छन् ।

उक्त जिप दुर्घटनामा घाइते हुनेहरुमा सोरु गाउँपालिका–५ का गोविन्द शाही, सिप गाउँका जिप चालक दिनेश लावड, सोरु गाउँपालिका–६ बन्जाहाँ गाउँका सेरे रोकाया र हुम्ला सिमकोट-२ ठेहेका उजिर बोहोरा रहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

सोरुकोटबाट मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको उक्त जिप सडकबाट दुई सय मिटरभन्दा तल खसेको थियो ।

हुम्लाका चार जनाको शव सिप स्वास्थ्य चौकीमै राखिएको र अर्का मृतक लोकजनको शव जिल्ला अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए । मृतकका परिवार बोलाएर शव बुझाइने प्रमुख जिल्ला अधिकारीले जनाए ।

घाइते चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । हुम्लाका पाँचै जना राष्ट्रिय प्रसारण लाइनको काम गर्न मुगु गएका उनीहरुका परिवारले बताएका छन् । आफन्तहरु जिल्ला प्रहरी कार्यालय हुम्लासँग समन्वय गरी मंगलबार बिहान मुगुका लागि हिँडेको हुम्ला प्रहरी प्रमुख डीएसपी भिमलाल भट्टराईले जानकारी दिए ।

    सम्बन्धित समाचार...